१३ फागुन, काठमाडौं । विघटित संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले आफू केही वर्ष पार्टीको कार्यकारी भूमिकामा क्रियाशील हुन चाहेको प्रष्ट पारेका छन् ।

नेम्वाङ उपप्रधानमन्त्रीसहित ओली सरकारमा सहभागी हुन लागेको भनेर गरिएको प्रचारमा सत्यता नरहेको समेत उनले स्पष्ट पारेका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ अहिले माधव नेपाल नेतृत्वको पार्टी एकता राजनीतिक दस्तावेज कार्यदलको सदस्य छन् । आफू मन्त्री नहुने र अझै १०/१२ वर्ष सक्रिय राजनीति गर्ने उमेर रहेकाले तत्काल कुनै सरकारी पदमा जाने लालसा नरहेको समेत नेम्वाङले बताए ।

अनलाइनखबरसँग कुरा गर्दै नेम्वाङले भने- ‘देश र जनताको हितमा अब केही समय पार्टीमै क्रियाशील हुने मेरो इच्छा छ, मन्त्री खान जाने भन्ने हल्ला गलत हो । म पार्टीकै काममा सक्रिय हुन्छु ।’

नेम्वाङको चर्चा पुनः सभामुख हुने भन्ने पनि छ । तर, उनले यसबारे पार्टीमा कुनै कुरा नभएको बताए । राष्ट्रपतिमा पनि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालसम्मको रुची देखिएपछि नेम्वाङ पछि हटेका हुन् ।

‘१०/१२ वर्ष त्यसै पनि सक्रिय राजनीति गर्ने उमेर छ, अहिले नै निश्क्रिय हुनेखालका पदमा मेरो चर्चा आवश्यक छैन’ नेम्वाङले भने ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस