टीकापुर, फागुन २० । गत फागुन १७ गते राति टीकापुरमा होली खेल भैरहेको बेला खुल्ला खेलमैदानमा भएको हत्यापछि मृतकका समर्थकले गरेको आन्दोलन आक्रामक र उग्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

हत्यारालाई सार्वजनिक गरी कारवाहीको माग गर्दै आएका आन्दोलनकारी इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्न गएको भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

४ दिनदेखि आन्दोलनमा रहेका मृतकका समर्थकले हत्या आरोपीको बचाउ गरेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलको घर घेराउ गरेका छन् । आन्दोलनकारीले मेयर रावलको घर घेराउ गरी आक्रमणको प्रयास समेत गरेका थिए ।

अहिले रावलको घरको सुरक्षाको लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । आन्दोलनकारीले रावलको घर आगाडि अहिले टायर बालेर नाराबाजी गरिरहेका छन् । प्रहरीले आन्दोलनमा संलग्न ९ जनालाई नियन्त्रणमा लिएको छ ।

मृतकका परिवारसंगको छलफलपछि आज शवको पोष्टमार्टम भए पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस