घोराही, २३ फागुन । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाका बलिराम थापाको तीन पुस्ता भरपर्दो छाना विनै बित्यो । टालटुल गरी बास ढाक्नुपर्ने बाध्यता बाजेपुस्ताबाटै थियो, गतिलो छाना लगाउने पैसा थिएन, ऋण लिएर छानो हाल्ने कुरा सपना जस्तै थियो तर जनप्रतिनिधिहरुले उहाँको सपना यसपालि निःशुल्क पूरा गरेका छन् ।

वडा नं. १६ लाई खरको छानोमुक्त वडा बनाउन जनप्रतिनिधिहरुले जस्ता पाता ल्याएर घरमै पुर्‍याइदिएपछि वडाका ४८ घरबाट खरको छानो विस्थापित हुने भएको छ । जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षभित्रै वडालाई खरको छानामुक्त वडा बनाउने प्रतिबद्धता अनुसार बुधवारदेखि जस्ता पाता वितरण सुरु गरेका छन् ।

“खेतिपाति गुजारामात्रै छ, कमाइ खानलाउनमै सकिन्छ” जस्ता पाता बुझेपछि खुशी हुँदै थापाले भन्नुभयो, “त्यति विश्वास त थिएन, तर हाम्रो तीनपुस्तामा म नै पहिलो पुस्ता भएँ घरमा टिन लाउने ।” उहाँले जनप्रतिनिधिले भाषणमा भनेको कुरा त्यति विश्वास नलागेको सम्झिँदै छाना दिने कामले गरिवहरुलाई ठूलो राहत मिलेको बताउनुभयो । सर्राका जीवन चौधरी पनि जनप्रतिनिधिले घरमै जस्ता पाता पुर्‍याइदिँदा हर्षित हुनुहुन्छ । खरको छानो फालेर भाटाको तयारी गरिरहेका चौधरीको आँगनमा बुधवार विहानै टिन पुगेपछि खुशीको सीमा रहेन । आंशिक बजार क्षेत्रमा वर्षेनी खर पाउनै गाह्रो छ, पाइहाले पनि चुहिने समस्या छ, आगलागीको डर सधैँभरि खेपेका चौधरीले अब ढुक्कसँग बस्न पाइने विश्वास गर्नुभयो ।

थापा र चौधरीजस्तै वडा नं. १६ का अनुप चौधरी, उमा चौधरी, नीमकुमारी नेपाली र होमबहादुर चौधरी गरी ७ जनाले जस्ता पाता पाएका छन् । खरको छानो फालेर तयार पारिएकाले पहिलो चरणमा ७ जनालाई टिन उपलब्ध गराइएको वडा अध्यक्ष लछिनप्रसाद बुढाले जानकारी दिनुभयो । उहाँले पहिचान गरिएका सबै घरका लागि जस्ता पाता ल्याइएको उल्लेख गर्दै खरको छानो फालेर आए जतिबेला पनि टिनका पाता उपलब्ध गराउन सकिने बताउनुभयो ।

“प्रायः गाउँमा धेरै घर सँगसँगै हुन्छन् एउटामा दुर्घटनाबस आगलागी भए पुरै गाउँ सखाप हुने समस्या रोक्न जस्ता पाता वितरण गरेका हौं” वडाध्यक्ष बुढाले भन्नुभयो “गरिवीकै कारण जस्ता पाता लगाउन नसक्ने किसानहरुलाई यो सुविधा दिइएको हो, यसैवर्षभित्र १६ नं. वडालाई खरको छानोमुक्त वडा बनाउने छाैँ ।

वडा कार्यालयले झण्डै ७ हजार घरधुरीको सर्वेक्षण गरी खरको छानो भएका घरको प्राविधिक स्टिमेट तयार गरेको थियो । जसमा ६१ घर गोठमा खरको छानो भएको पाइएको थियो । त्यसमध्ये ४८ घरमा खरको छानो फालेर टिन लगाउने तयारी भइरहेको वडा सदस्य जगत श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दाङमा पहिलो पटक घोराही उपमनपा–१६ ले गरिव किसानको घरमा टिन लगाइदिएको हो ।“यो नमूना कार्य हो, खरको छानो विस्थापित गर्ने काम १६ नं. वडाबाट सुरु गरिएको छ” घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भन्नुभयो “यो कार्यक्रम आउदो आर्थिक वर्षदेखि उपमहानगरका सबै वडामा सञ्चालन गरिने छ ।” उहाँले गरिवीकै कारण छानो फेर्न नसक्ने र खरको छानोबाट हुने जोखिम रोक्न यो अभियान सार्थक हुने बताउनुभयो । एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई नगरप्रमुख चौधरी र वडाध्यक्ष वुढाले संयुक्त रुपमा जस्ता पाता हस्तान्तरण गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस