घोराही, २४ फागुन । अधिकारको लडाँई सकिएको र अब कार्यान्वयनको पक्षलाई प्रमुख विषय बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । बिहीबार १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दाङको घोराहीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले अधिकार कार्यान्वयनलाई प्रमुख विषय बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

देश संघीय संरचनामा प्रवेश गरिसकेको भन्दै वक्ताहरुले अब तीनवटै सरकारले प्राप्त उपलब्धीहरुको व्यवहरिक कार्यान्वयन गरेर अघि बढ्नुपर्ने आवस्यकता औँल्याए । अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिको आयोजना तथा जिल्ला समन्वय समिति, घोराही उपमहानगरपालिका, महिला तथा बालबालिका कार्यालय, युवा कार्य नेपाललगायतका २ दर्जन संघसंस्थाहरुको समन्वयमा कार्यक्रम गरिएको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले अधिकारको लडाँई सकिएको भन्दै समृद्धिको काममा सरकार लाग्नुपर्ने बताए ।

स्थानीय तहका गाउँ गाउँमा जनप्रतिनिधिहरु चुनिएको अवस्थामा अब विभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई कार्यान्वयनमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ । समान कामको समान ज्याला सबै मजदुरहरुले पाउनुपर्ने र नपाए सम्बन्धित ठाउँहरुमा गुनासो गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले अब आन्दोलन गर्ने र नारा लगाउने दिनको अन्त्य भएको बताए । जनताले चुनेका व्यक्तिहरुको हातमा शासनसत्ता आएको अवस्थामा अब नीति नियमलाई कार्यान्वयन गर्नु प्रमुख विषय बनेको बताए ।

लैंगिक हिसावले अब श्रममा विभेद गर्न नहुने भन्दै उहाँले श्रमिकहरु पनि जागरुक हुन आवस्यक रहेकोमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले नीति नियममा व्यवस्थाहरु फेरिए पनि श्रमिक महिलाहरुको अवस्थामा परिवर्तन आउन नसकेको गुनासो गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्य विवेक श्रेष्ठ, नेपाली कांग्रेसका कोषाध्यक्ष सावित्रा राना, माओवादी केन्द्रका पुनम सेर्पाइलीले भाषण र आदर्शका कुराले श्रमिक महिलालाई न्याय नहुने बताए ।

त्यसैगरी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, युएनएफपिएका संयोजक राम थापा, सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमा डिसी, सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकी, पत्रकार वसुन्धरा गौतमलगायतले श्रमिक महिला दिवसमा बर्सेनी नाराहरु फेरिए पनि उनीहरुको अवस्था फेरिन नसकेको प्रति स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

नीति नियम बने पनि कार्यान्वयन पक्ष अझै फिलतो हुँदा समान कामको असमान ज्याला, कार्यस्थलमा यौनशोषण कायमै रहेको प्रति सरोकारवालाले ध्यानाकर्षण गराएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गा सिंहले नेपालमा महिलाहरुको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रम पूर्व घोराहीको शहीद गेटबाट र्‍याली निकालिएको थियो ।

विभिन्न संस्था र व्यक्तिलाई सम्मान
दिवसकै अवसरमा विभिन्न महिलाहरुलाई सम्मान गरिएको छ । जखेराताल महिला विकास बचत तथा ऋण सहकारी संस्था सोनपुर, सिद्ध सचेतना महिला विकास बचत तथा ऋण सहकारी संस्था सतबरियालाई संस्थागतरुपमा सम्मान गरिएको छ ।त्यसैगरी सहकारीमा आबद्ध भएर राम्रो व्यवसाय गरेका मायादेवी चौधरी, बासुदेवी चौधरीलाई पनि सम्मान गरिएको छ । यस्तै अपांगता भएर पनि जुत्ता सिलाउँदै आउनुभएकी जाली घर्तीलाई पनि सम्मान गरिएको छ ।

साथै सामुदायिक प्रहरी सेवा केन्द्रमा सक्रियरुपमा जिम्मेवारी निभाउँदै आएको भन्दै प्रहरीजवान पवित्रा खड्का र महिला विकास कार्यालयका जीवन जिसी र ईश्वरा रावतलाई पनि सम्मान गरिएको छ । सबैलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस