घोराही, ३ चैत । नेकपा मालेका महासचिव सीपी मैनालीले मुख्य मुद्दा मिल्ने अवस्था आए बाम गठवन्धनसँग पार्टी एकीकरणमा जान सकिने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय परिषद् बैठकपछि घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव मैनालीले बाम गठवन्धनलाई अझै विश्वास गर्ने वातावरण नभएको समेत बताउनुभयो । केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयनका लागि सुझाव सङ्कलन गर्नेगरी आयोजित परिषद् बैठकले मुख्य एजेन्डा मिले बामगठबन्धनसँग पार्टी एकीकरण गर्न सकिनेसम्मको म्याण्डेट दिएको जानकारी दिनुभयो ।

केन्द्रीय समितिको कामको मूल्याङ्कन र दिशानिर्देश गर्नेगरी परिषद् बैठक बसेको हो महासचिव मैनालीले भन्नुभयो, ‘देशको विशिष्ट परिस्थितिको समीक्षा गर्दै एजेण्डा मिले एकीकरण गर्नसक्ने म्याण्डेट दिने काम पनि गरेको छ ।

गठबन्धनको तर्फबाट अन्तरिम राजनीतिक प्रतिवेदन आउन बाँकी रहेकाले एकीकृत पार्टीको चरित्र कस्तो हुने भन्ने विषय हेर्न बाँकी भन्दै उहाँले देश र जनताको पक्षमा हुनेगरी एकीकृत बाम पार्टी निर्माण हुने देखिए आफूहरु पनि एकीकरणकै पक्षमा जाने बताउनुभयो ।

तर, एमालेको जबज र माओवादी केन्द्रको माओवादकै कक्टेल स्वरुप आए एकीकृत नभई मुद्दाका आधारमा मोर्चाबन्दी गरेर अघि बढ्न सकिने मैनालीको भनाइ थियो । मधेसी, जनजातिलगायतको पहिचानको एजेण्डालाई विगतमा एउटाले चर्को विरोध गर्ने र अर्काले समर्थन गर्ने काम भएकै हो महासचिव मैनालीले भन्नुभयो ‘तर अहिले यी दुवै चरित्रको कुनै आत्मालोचना नभई गरिएको गठबन्धन टिक्नेमा हामीलाई शङ्का छ । त्यसैले स्पष्ट राजनीतिक प्रतिवेदन नआई पार्टी एकीकरणको विषयमा बोल्न हतार नै हुन्छ ।

बाम गठवन्धनले सुविधाजनक मत पाए पनि सत्ता र शक्तिका लागि मात्रै गठबन्धन गरिएकाले चरित्र परिवर्तन नगरी गठवन्धन टिक्ने अवस्था नरहेको समेत टिप्पणि गर्नुभयो । ‘गठवन्धन भाँडियोस भन्ने हाम्रो चाहना होइन, तर सत्ता र शक्तिको स्वार्थ देख्दा भर पनि छैन’ मैनालीले भन्नुभयो ‘हामी त छिमेकीमा डाँका लाग्ने खतरा देखेर पूर्वसूचित मात्रै गरेका हौं । गठवन्धन टिक्न नदिन बाह्य शक्ति पनि आकर्षित हुनेतर्फ इंगित गर्दै मैनालीले त्यसका लागि गठबन्धनका नेतृत्व र नीतिको चरित्र परिवर्तनको खाँचो औँल्याउनुभयो ।

उहाँले असली राष्ट्रवादको पक्षमा काम गर्ने हो भने सबै देशभक्त शक्तिहरुबीच मोर्चाबन्दी हुनुपर्नेमा जोड दिनुभयो । जनमत पाएकाहरु मात्रै होइन अन्य सडकमा रहेका बामशक्ति तथा देशभक्त शक्तिबीच पनि बृहत मोर्चाको आवश्यकता औँल्याउँदै मैनालीले त्यसले मात्रै जनजीविकालाई सम्धबोन गर्नसक्ने बताउनुभयो ।

मधेसका केही थान नेताहरुलाई पद दिएर मधेसको विकृत मुद्दाको समाधान नहुने भन्दै संविधानकै माध्यमबाट मधेस र जनजातिको समस्या सुल्झाउनुपर्नेमा मैनालीले जोड दिनुभयो । उहाँले नेकपा, विप्लव, राजमोलगायतका बामशक्तिबीच मोर्चाबन्दी गरेर सरकारका राम्रा कामको सराहना र गलत कामको विरोध सँगसँगै गर्ने बताउनुभयो । चैत १ गते तुलसीपुरमा आमसभा गरी उद्घाटन गरिएको केन्द्रीय परिषद् बैठक घोराहीमा ३ दिनपछि समापन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस