घोराही, ७ चैत्र । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अबको लगानी पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिकाले बुधबार दाङ क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभामुख महराले चुनावी एजेण्डासँगै आवस्यकतामा आधारित विकास अबको मुख्य मुद्दा भएको बताउनुभयो ।
संघीय संसद्‍मा २ नम्बर क्षेत्रबाट निर्वाचित महराले जनतासँग गरेको वाचालाई कुनै पनि हालतमा नभुल्ने समेत प्रतिबद्धता जनाउनुभयो । दाङको पूर्वाधार विकासलाई प्राथमिकताको आधारमा अघि बढाइने भन्दै सभामुख महराले जनप्रतिनिधिहरुको योजना माग गर्नुभयो । साथै उहाँले कोइलाबास नाकालाई सुचारु गर्ने, अलपत्र पुल तथा सडक निर्माणलाई पूर्णता दिने र संविधानमा लेखिएका नागरिक अधिकारलाई कार्यान्वयमा ल्याउन तीन तहकै सरकार क्रियाशील रहने समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगीले भुगोलमा आधारित विकासका कामहरुलाई अघि बढाइने बताउनुभयो । अबको एजेण्डा आर्थिक विकास, पूर्वाधार निर्माण, स्वरोजगार र व्यावसायिक उत्पादनहरु भएको सांसद डाँगीको भनाइ छ ।
त्यसैगरी घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले अबको विकास जनतालाई अनुभूत हुने खालको हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । विकासका एजेण्डाहरुमा समग्र दाङलाई जोडेर अघि बढ्नेगरी समन्वयकारी पहलबाट दाङको समृद्धि निर्धारण गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले घोराही-मुर्कुट्टी-प्युठान सडकलाई कालोपत्रे गर्ने कामलाई केन्द्रीय सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले जनताले दिएको जिम्मेवारीलाई कुनै पनि हालतमा पूरा गरेर देखाउन चुक्न नहुनेमा जोड दिएका छन् ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं सभामुख महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरका उपप्रमुख सीता न्यौपानेले स्वागत गर्नुभएको थियो भने सहजीकरण बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस