दाङ, ७ चैत । जिल्ला समन्वय समिति दाङले सभामुख कृष्णबहादुर महरालाई स्वागत गरेको छ । समन्वय समितिले बुधवार उहाँलाई स्वागत गर्दै जिल्लाको समग्र विकास निर्माणमा भूमिका खेल्नको लागि ७ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।

जिल्ला समन्वय समितिले सभामुख महरालाई बुझाएको ज्ञापनपत्रमा जिल्लाको एकीकृत तथा व्यवस्थित विकासको लागि पहल गर्न, नदीजन्य वस्तुको उपयोग तथा उत्खनन्‌मा देखिएका समस्याको स्थायी समधानका लागि आवश्यक निति निर्माणमा सहयोग गर्न, साविक स्थानीय निकायबाट नियुक्त भएर निवृत्त हुने कर्मचारीलाई उपलब्ध गराउने सेवा सुविधाको व्यवस्थापनमा आवश्यक पहल गर्न, जिल्लालाई वातावरण प्रदुषणबाट जोगाउन, लमही-कोइलाबास सडक निर्माणमा अधिग्रहण गरिएको जग्गा मुआब्जा वितरणमा देखिएका समस्या समाधान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उप क्षेत्रीय अस्पताल सञ्चालनका विषयमा देखापरेको विवाद समधानको लागि पहल गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी जिल्ला समन्वय समितिहरुको कार्य, भूमिका स्पष्ट नीति निर्माणसँगै यसलाई स्वायत्तता प्रदानतर्फ आवश्यक पहलको लागि भूमिका खेल्न ज्ञापनपत्रमा उल्लेख छ । ज्ञानपत्र पत्र बुझ्दै सभामुख महराले दाङको समग्र विकासका लागि आफूले भूमिका खेल्ने बताए । ‘म सभामखुसँगै यस क्षेत्रको निर्वाचित सांसद समेत भएकोले जिल्लाको विकासमा मेरो भूमिका हुनेछ’ उनले भने ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, जिल्ला समन्वय अधिकारी र अन्य कर्मचारीको सहभागिता थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका सूचना अधिकृत कृष्ण केसीले गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस