घोराही, ११ चैत्र । वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका र वातावरण मन्त्रालय वातावरण विभागबीच सम्झौता भएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर २ रामपुरमा उक्त वायु गुणस्तर मापन केन्द्र स्थापना गर्नेगरी उपमहानगरका मेयर नरुलाल चौधरी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

पश्चिमबाट पूर्वतर्फ हावाको बहाव बहने भएका कारण घोराही सिमेन्ट उद्योगको पूर्वीभाग रामपुर बजारको रामपुर प्रहरी चौकीको हाताभित्र उक्त बायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने मेयर चौधरी र विभागका केमिस्ट पौडेल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवासहित घोराही बजार क्षेत्रसम्म दुरीको समेत बायु प्रदुषणको मापन गर्ने क्षमता सहितको करिब १ करोड २५ लाख रुपैयाँको उक्त वायु गुणस्तर मापन केन्द्र स्थापना गर्नेगरी सम्झौता गरेको मेयर चौधरीले जानकारी दिनुभएको छ ।

सिमेन्ट उद्योगसहित अन्य उद्योगहरुबाट निस्कने धुलो र धुवाँको मात्रा पत्ता लगाएर त्यसलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको उहाँको भनाइ छ । उद्योगहरुलाई वातावरणमैत्री बनाउने गरी उक्त मापन केन्द्र स्थापना गर्न थालिएको र अबको साढे २ महिनाभित्र उक्त वायु गुणस्तर मापन केन्द्रको स्थापना गरिने विभागले जनाएको छ ।उद्योगबाट निस्कने धुलो धुवाँ, फोहोर जलाएर निस्कने धुवा र पुराना गाडीबाट निस्कने धुवाँ सबै छुट्याउने र त्यसपछि न्यूनीकरण गर्नका लागि काम थालिने विभागका वातावरण निरीक्षक निर्मल चौधरीले जानकारी दिनुभयो ।प्रदुषणको मापनपछि कार्ययोजना बनाएर प्रदुषण नियन्त्रणको काम हुने उहाँको भनाइ छ । उक्त सम्झौतापत्रमा मेयर चौधरी, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस