मातृशिशु स्वास्थ्य सुधारमा थप लगानी गरिने
घोराही, २० चैत्र । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका २० जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई सम्मान गरेको छ । महिला र बालबालिकाको स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै २० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।

घोराही उपमहानगरपालिकाका १९ वटै वडाबाट समेटिने गरी २० जना महिला स्वयंसेविकालाई सम्मान गरिएको उपमहानगरले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविका धना जिसीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा उपप्रमुख सीता न्यौपाने र जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी उनीहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा छमा पाण्डे, ज्ञाना पुन, कमला चौधरी, सुशीला आचार्य, तुलसा खड्का, कुन्ता सिजवाल, सीमा चौधरी, लिली चौधरी, विष्णु भण्डारी र रत्नशोभा गौतम रहनुभएको छ । त्यसैगरी अन्य सम्मानित हुनेहरुमा सीता बस्नेत, लक्ष्मी केसी, रेखा पाण्डे, सुशीला शर्मा, दिलसरा जिसी, बालिका वली, सीता चौधरी, जीवा आचार्य, गंगा घर्ती र भीमा खड्का रहनुभएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले मातृशिशु स्वास्थ्यमा अमूल्य योगदान पुर्‍याएको बताउनुभयो । सबै स्वास्थ्य स्वयंसेविकाहरुले राम्रो काम गरेको भन्दै क्रमशः सबैलाई सम्मान गर्दै जाने र लगानी बढाउने प्रतिवद्धता जनाउनुभयो ।

स्वास्थ्यमा सुधार भए मात्रै परिवार, समाज र राष्ट्रको विकास हुने उहाँको धारणा रहेको छ । रोग र समस्याबाट मुक्त भए मात्रै आर्थिक समृद्धिको कल्पना गर्न सकिने भएको भन्दै उहाँले मातृशिशु स्वास्थ्यमा सुधार ल्याउनु मुख्य सवाल भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सीता न्यौपानले महिला स्वास्थ्य स्वयंसेविकाहरुले गर्दै आएको सामाजिक सेवालाई उपमहानगरले सम्मान गर्दै जाने बताउनुभयो । आत्मसम्मान र विश्वासलाई बचाएर मातृशिशु स्वास्थ्यमा अझ जिम्मेवार भएर लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले कामको आधारमा सम्मान र मूल्याङ्कन गरिने बताउनुभयो । त्यसैगरी नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले मातृशिशु स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वय‌ंसेविकाहरुले गर्दै आएको कामलाई सामाजिक सेवाभावसँग जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरु विना खनाल र शान्ता केसीले आफूहरुको श्रमलाई अब सरकारले सेवासुविधासँग जोड्नुपर्ने माग गर्नुभयो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका ठाकुर खनालले गर्नुभएको थियो ।

स्वयंसेविकाको अध्यक्षमा खनाल
महिला स्वास्थ्य स्वयंसेविकाहरुले घोराही उपमहानगरपालिकास्तरीय कमिटी गठन गरेका छन् । कमिटीको अध्यक्षमा विना खनाल, उपाध्यक्षहरुमा माया चौधरी, द्रोणा वली, तारा नेपाली, सचिवमा जीवा आचार्य, सहसचिवमा इन्द्रकुमारी चौधरी र कोषाध्यक्षमा शान्ता केसीलाई चयन गरिएको छ ।

घोराहीमा भएको नगरस्तरीय महिला स्वास्थ्य स्वयंसेविकाहरुको भेलाले गठन गरेको कमिटीको सदस्यहरुमा तारा सुवेदी, राजदेवी चौधरी, केशरा पौडेल, शान्ति बिसी, कमला गिरी, अस्मिता आचार्य, कोपिला डाँगी, सीता बस्नेत, नमा रावत, रेखा पाण्डे, उषा जिसी, काजल जिसी र गंगा घर्ती रहनुभएको छ । साथै सल्लाहकारमा धना जिसी, विष्णु भण्डारी, नारायणप्रसाद घर्ती, ठाकुर खनाल र तारा नेपालीलाई चयन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस