घोराही, २० चैत्र । दिगो विकासमा सहकारीलाई केन्द्रित गर्ने गरी आज ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दाङमा पनि सहकारी संस्थाहरुको आयोजनामा जिल्लाभरीका विभिन्न पालिकाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।
घोराहीमा र्‍यालीसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहकारी संस्थाहरुलाई बहुआयामिक बनाउने लक्ष्यका साथ दिवस मनाइएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड दाङसहित आधा दर्जन सहकारी संस्थाहरुको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरुलाई फराकिलो बनाउन आवस्यक रहेको बताएका छन् ।
एउटै प्रकृतिका सहकारीहरु मात्रै स्थापना हुने गरेको भन्दै वक्ताहरुले अब आर्थिक विकास र समृद्धिमा मद्दत पुर्‍याउनेखालका सहकारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सहकारी संस्थाहरुलाई उत्पादनमुखी सँगै प्रशोधनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
अहिलेका सहकारीहरुले विभिन्न बस्तुहरु उत्पादन गर्ने तर त्यसको प्रशोधन हुन नसक्दा खेर जाने र आर्थिक क्षति हुने गरेको भन्दै अब उत्पादन सँगै प्रशोधन गरेर बजार पुर्‍याउने विधि आवश्यक रहेको बताउनुभयो ।
पैसा जम्मा गरेर ब्याजमा लगाउने र तरकारी फलाउने मात्रैमा सहकारीहरु सीमित हुने गरेको भन्दै उहाँले अब ठूला ठूलो योजनामा पनि हात हाल्न आग्रह गर्नुभयो । सहकारीको क्षेत्र ठूलो रहेको तर सानो क्षेत्रमा राखेर हेर्ने गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा सहकारी डिभिजन कार्यालयका प्रमुख विनोदकुमार पौडेल, दाङ सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अञ्‍जनकुमार पौडेल, राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकी, राष्ट्रिय सहकारी बैंकमा शाखा प्रबन्धक नारायण बेल्बासे लगायतले सहकारीमा पारदर्शिता र दूरदर्शिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाभित्र रहेका सहकारी संस्थाहरुका २ सय बढी प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सहकारी संघका सचिव कृष्णप्रसाद शर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस