घोराही, २१ चैत । दाङको घोराही बजार क्षेत्रमा माग अनुसारको खानेपानीको आपूर्ती हुन सकेको छैन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ का बजार तथा आसपासका क्षेत्रमा खानेपानी पुर्‍याउँदै आएको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार दैनिक २४ लाख लिटर पानीको अपुग हुने गरेको छ ।
बजार क्षेत्रमा बर्सेनी यसरी नै खानेपानीको अभाव रहँदै आएको छ । अन्य मौसममा भन्दा पनि गर्मी मौसममा पानीको खपत धेरै हुने र स्रोतमा कमी आउँदा माग अनुसारको खानेपानी पुर्‍याउन समस्या भएको संस्थाका कोषाध्यक्ष ध्रुव केसीले जानकारी दिनुभयो ।
पर्याप्त पानी नहुँदा दैनिकी नै असहज हुने गरेको उपभोक्ताहरु बताउँछन् । बर्सेनी बढ्दै गइरहेको जनघनत्व र बजार क्षेत्रमा डेरा गरी बस्नेहरुको संख्यामा बृद्धि हुँदा पनि माग अनुसारको पानी पुर्‍याउन संस्थालाई अप्ठेरो परेको केसीको भनाइ छ ।
दैनिक ३६ लाख लिटर पानी उत्पादन हुने गरेको तर घोराही क्षेत्रमा ६० लाख लिटर पानी आवश्यक रहेको संस्थाले जनाएको छ । पानीको माग पूर्ति गर्नका लागि सम्भाव्यता अध्ययन गरेर अघि बढ्ने काम भैरहेको संस्थाको भनाइ छ ।
धारामा पानी नपुगेपछि संस्थाले ट्याङ्करमाफर्त उपभोक्ताहरुको घरघरमा खानेपानी पुर्‍याउने समेत गरिएको छ । हाल घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ६ हजार २ सय ३ वटा धाराहरु दर्ता भएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस