घोराही, २४ चैत । घोराही उपमहानगरपालिका कृषि शाखाले सौंडियार र लक्ष्मीपुरमा माटो परीक्षणका लागि प्रतिबद्धता जनाएको छ ।

जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, साविक गाविसस्तरीय मानवअधिकार निगरानी समूह तथा सरोकारवालाहरुको जिल्ला तथा स्थानीयतहस्तरीय बहस/सम्वाद बैठकमा बोल्दै शाखा प्रमुख भरतमणि पोख्रेलले वार्षिक कार्यक्रम अन्तर्गत हुने माटो परीक्षणको कार्यक्रम सौंडियार र लक्ष्मीपुरमा पनि लैजाने प्रतिबद्धता जनाउनुभयो ।

साविक गाविसस्तरीय मानवअधिकार निगरानी समूहले किसानहरुले माटो परीक्षण गराउने माग गरेको भन्दै समस्या राखेपछि पोख्रेलले उपमहानगरपालिकाका ५ स्थानमा माटो परीक्षणका लागि घुम्ती सेवा सञ्चालन गर्न लागेकाले सौंडियार र लक्ष्मीपुरमा पनि शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

साथै उहाँले उपमहानगरपालिकामा पूर्व विनियोजित बजेट भएकाले निश्चित कार्यक्रम रहेको भन्दै आधुनिक कृषि औजारका लागि निवेदन दिन समेत किसानहरुलाई आह्वान गर्नुभयो । उहाँले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजारहरु दिने कार्यक्रम रहेकाले छिटो निवेदन दिन इच्छुक किसानहरुलाई आग्रह गर्नुभएको हो । पोख्रेलले किसानहरुलाई निर्वाहमुखि भन्दा व्यवसायिकमुखि खेती प्रणाली अपनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि उपमहानगरपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मानवअधिकार निगरानी समूह लक्ष्मीपुरकी अध्यक्ष खिमा अधिकारी, मानवअधिकार निगरानी समूह सौंडियारका उपाध्यक्ष लौटन चौधरीलगायतले खाद्यअधिकारका लागि किसानहरुलाई आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।

जिल्लास्तरीय मानवअधिकार निगरानी समूहका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि जे.एन. सागरले गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार, इन्सेक जिल्ला सहजकर्ता शालिकराम मुसाफिरलगायतको सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस