घोराही, २४ चैत । दाङको घोराहीमा शनिबारदेखि १८ वर्षमुनिको आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । युनाइटेड नयाँबजार क्लबको आयोजनामा घोराहीको भरतपुर मैदानमा फुटबल प्रतियोगिता सुरु भएको हो । क्लबका अध्यक्ष बुद्धिराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेललाई अनुशासन र स्वास्थ्यसगँ जोडेर हेर्न आग्रह गर्नुभयो । पछिल्लो समयमा घोराही नगर क्षेत्रमा खेलप्रति बढेको आकर्षणलाई उपमहानगरले सम्मान गर्दै आवस्यक लगानी गर्न तयार रहेको बताउनुभयो ।

प्रत्येक वडाहरुमा खेल मैदानको नीति पास गरेको भन्दै नगरप्रमुख चौधरीले खेल क्षेत्रबाट स्वास्थ्यमा तन्दुरुस्तीसँगै खेलाडीहरुमा अनुशासनको विकास हुने विश्वास व्यक्त गर्नुभयो । खेलाडीहरुको प्रोत्साहनका लागि बिमा र पुराना खेलाडीहरुलाई सम्मान गर्नेगरी आफूहरुले योजना बनाएको समेत जानकारी दिनुभयो ।कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयले खेल क्षेत्रको विकासका लागि घोराही उपमहानगर सकारात्मक र लगानी गर्न तयार रहेको बताउनुभयो । त्यसैगरी जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले स्थानीय सरकारहरुले खेललाई प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

खेलाडीहरुमा रहेको सम्भावनालाई उजागर गर्न स्थानीय सरकारहरु आवस्यक पूर्वाधार निर्माण र खेलाडीहरुको क्षमता विकासमा लगानीका लागि जुट्न आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण फुटबल संघका महासचिव नरेन्द्र पुनले गर्नुभएको थियो ।

प्रतियोगितामा १० वटा समूहहरु सहभागी हुने भएका छन् । शनिबार भएको पहिलो खेल बुद्ध स्पोर्टस् क्लब लुहासुर र युएनबिसी ब्ल्याकबीच भएको छ । खेलमा बुद्धले युएनबिसीलाई चार-एकले पराजित गरेको छ । ३० गतेसम्म चल्ने प्रतियोगिताबाट प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई ८ हजार नगद पुरस्कार प्रदान गरिने क्लaका संयोजक रविन रोकामगरले जानकारी दिनुभयो । आइतबार दिउँसो ४ बजे युएनबिसी रेड र न्यू स्टार फुटबल एकेडेमीबीच खेल हुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस