घोराही, २७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ८ को बुधौरामा पौने ८५ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालन हुने भएको छ । धबगाड बुधौरा खानेपानी तथा सरसफाई आयोजनाको आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलान्यास गर्नुभएको छ ।
८४ लाख ७१ लाख ९ सय रुपैयाँको अनुमानित लागत खानेपानी आयोजनाको रहेको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोग र शान्ति पूनर्निमाण र विकासका लागि सहयोग फ्रि प्याडको प्राविधिक सहयोगमा उक्त खानेपानी योजना सञ्चालन हुन लागेको हो ।
१ सय ८ घरधुरीका ९ सय १३ जनालाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ सञ्चालन गरिएको आयोजना यही पुस २ गते सम्झौता भएको र आगामी २०७५ साल कार्तिक १ गते निर्माण सम्पन्न हुने भएको छ । २० हजार लिटर पानी अट्ने ओभरहेड ट्यांकी निर्माणको काम समेत अब सुरु हुने भएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले खानेपानी आयोजनालाई दिगो र भरपर्दो बनाउन सुझाब दिनुभएको थियो । मुहानदेखि मुखसम्म खानेपानी सुरक्षित हुनुपर्नेमा जोड दिँदै नगर प्रमुख चौधरीले खानेपानी आयोजनालाई सम्पत्तीका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।
पानी र सरसफाई स्वास्थ्यका लागि अति आवस्यक पर्ने भएको भन्दै उहाँले पानीमा लगानी गर्नुपर्ने बताउनुभयो । अब घोराही उपमहानगरपालिकाभित्र विकास कुनै पनि हालतमा नरोकिने भन्दै आवस्यकता अनुसारको विकास हुने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रकाश चौधरी, वडा सदस्य प्रकाश खड्का, बुद्धिजिवी केवी चौधरी, वास अफिसर प्रकाश आचार्य, स्थानियहरु तिलक महरा, होमप्रकाश चौधरी, रामबहादुर चौधरी लगाएतकाले खानेपानी आयोजनालाई सफल बनाउने र घरघरमा पानी पुर्‍याउने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस