घोराही, २९ चैत । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हक कार्यान्वयन विकास र समृद्धिसँग जोडिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयुक्त तिम्सिनाले सूचना प्रवाहले पारदर्शिता ल्याउने र समृद्धिमा मद्दत पुग्ने बताउनुभयो ।
सुचनाको हकलाई कानुनमा मौलिक हक भनेर उल्लेख गरे पनि सरकार नै यसको कार्यान्वयनमा उदासिन देखिएको आरोप लगाउनुभयो । सरकारले आफ्ना सेवा प्रदायक निकायहरुलाई सूचनाको हकसम्बन्धी विषयमा दक्ष बनाउन नसक्दा कार्यान्वयनको पक्ष फिलतो भएको उहाँको भनाइ छ ।
आयुक्त तिम्सिनाले सूचना पाउनका लागि अपनाइने प्रकृयाका बारेमा सूचना लिने जानकार हुनुपर्ने र सूचना दिनेले पनि सूचना दिनु मेरो जिम्मेवारी हो भन्ने भावना हुनु पर्ने उल्लेख गर्नुभयो ।
जनताले जान्न पाउने अधिकारभित्र सूचनाको हक पर्ने भएकाले बेथिति मात्रै नभई थिति बसाल्ने अस्त्रकारुपमा लिन आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सूचनाको हक कार्यान्वयनका लागि आफूहरुले समन्वयकारी भूमिकामा बस्ने बताउनुभयो । कोही पनि नागरिक चाहेको सूचना पाउनबाट बन्चित हुनु नपर्ने भन्दै उहाँले प्रकृयालाई भने पूरा गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अहिले सूचना प्रवाहलाई जिम्मेवारीकारुपमा लिएको बताउनुभयो । कुनै पनि सूचना लिनका लागि उपमहानगरमा समस्या आउन नदिने समेत स्पष्ट पार्नुभयो । आगामी दिनमा सूचना प्रवाह गर्ने विषयलाई थप परिमार्जन र सूचनामैत्री बनाउने समेत प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमरराज आचार्यले सबै सरकारी कार्यालयहरुमा सूचना अधिकारीको व्यवस्था गरिएको बताउनुभयो । अब स्थानीय तहहरुले सूचनाको हकलाई कार्यान्वयनमा आफ्नै नीति अनुसार अघि बढ्ने बताउनुभयो ।
महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, दाङका पूर्व अध्यक्ष केवि मसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पत्रकारहरु केपी घिमिरे, सुनिलकुमार पोख्रेल लगायतले अहिले पनि सहजै सूचना प्राप्त गर्न सक्ने वातावरण नरहेको गुनासो गर्नुभयो । सूचना दिए बर्बाद हुन्छ भन्ने भावना सरकारी कार्यालयहरुमा रहेको उहाँहरुको भनाइ छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस