घोराही, २९ चैत । सरकारी र गैरसरकारी निकायहरुको एकीकृत पहिचानका आधारमा मात्रै दिगो विकास हुने एक कार्यक्रमका बक्ताहरुले निष्कर्ष निकालेका छन् । जिल्ला समन्वय समिति दाङले बिहीबार घोराहीमा आयोजना गरेको समृद्ध दाङका लागि गैरसरकारी संस्थाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले गैरसकारी निकायहरुको सहकार्यले सरकारका कार्यक्रमहरु सफल हुने निष्कर्ष निकालेक हुन् ।
समन्वय विनाका कार्यक्रमहरुले नतिजा राम्रो दिन नसक्ने भएकाले सरकारका कार्यक्रमलाई सघाउने कार्यक्रमहरुमा पारदर्शिता ल्याउनु पर्नेमा समेत जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि संघीय संसदका सदस्य सुजिता शाक्यले गैरसकारी संस्थाहरुले ल्याएको बजेटले सरकारको विकास कार्यक्रममा ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।
समन्वय विनाका कार्यक्रमले लक्ष्य हासिल गर्न नसक्ने भन्दै अनिवार्यरुपमा आवस्यक परामर्श र एकीकृत पहिचानमा आधारित कार्यक्रमलाई अघि बढाउन सुझाब दिनुभयो । विकासमा साझेदार हुनै पर्नेमा जोड दिदै दाङलाई संबृद्ध बनाउन एकीकृत पहल र लगानी हुनुपर्नेमा सांसद शाक्यले जोड दिनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लगानीमा व्यवस्थित पद्धतीको आवस्यक रहेको बताउनुभयो । समन्वय विनाका लगानीले प्रतिफल राम्रो दिनै नसक्ने ठोकुवा गर्नुभयो । पहिचानमा आधारित आबस्यकताहरुलाई पूरा गर्न एकीकृत लगानी हुनै पर्ने बताउनुभयो । श्रमको अभ्यासभन्दा दिमागको अभ्यास बढी गरेर दाङलाई समृद्ध बताउन सकिने नगर प्रमुख चौधरीको भनाइ छ ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारीले प्रक्रियागत ढंगको विकासले मात्रै दिगोपना ल्याउने बताउनुभयो । दक्ष जनशक्ति र आवस्यकता विनाको लगानीले प्रतिफल राम्रो दिन नसक्ने बताउनुभयो । स्रोत साधन भएर मात्रै नहुने भन्दै उहाँले दक्षता र भिजन स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ दाङका अध्यक्ष नानीमैया वली र गैरसरकारी संस्था समन्वय समितिका सुशील पोख्रेलले विकासमा गैरसरकारी संस्थाहरुको भूमिकाका विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले गैरसरकारी संस्थाहरु सरकारका सहयोगी निकाय बनेर काम गरे पनि सरकारले व्यवहार राम्रो देखाउन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले गैसरकारी संस्थाहरुका कार्यक्रममा पारदर्शिता र समन्वय अनिवार्य भएको बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस