दाङ, २९ चैत । पेशागत सुरक्षाका लागि एकजुट हुनुपर्ने शिक्षकहरुले जोड दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले बिहीवार घोराहीमा आयोजना गरेको ३९ औं शिक्षक दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले पेशागत सुरक्षाका लागि सबै शिक्षकहरु गोलबन्द हुनुपर्नेमा जोड दिए । दरबन्दी मिलानको क्रममा शिक्षा कार्यालयले अवरोध सिर्जना गरेको बताएका थिए ।
सामुदायिक विद्यालयका शिक्षकहरुको सम्मान समाजमा घट्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले पेशागत जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसके गुम्दै गएको सामाजिक शाख पुनर्स्थापित हुने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य प्रेमबहादुर वलीले शिक्षामा सामाजिक न्याय नभएको भन्दै सबै विद्यालयलाई स्रोतयुक्त बनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले पेशागत अधिकारका लागि जतिबेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै तयारी भई बस्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष विकास गौतमले पेशागत सुरक्षा र शैक्षिक उन्नयनका लागि सरकारले तोकेकै विद्यालयमा पुगेर जिम्मेवारी बहन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । यसैगरी नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष अमरबहादुर खड्काले सामुदायिक विद्यालयका शिक्षकहरु समाजले कम मेहनत गर्ने शिक्षकहरुको रुपमा लिइएको भन्दै पेशागत जिम्मेवारीमा गम्भीर हुन आग्रह गर्नुभयो ।
जिल्ला अध्यक्ष दामोदर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिहरु एमाले दाङका अध्यक्ष टीकाराम खड्का, जिल्ला शिक्षा अधिकारी रमेश मैनाली, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपाने, नेपाल शिक्षक संघका सचिव प्रकाश डाँगी,नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक केन्द्रीय सदस्य नारायण तर्ताल, पूर्व जिल्ला अध्यक्ष भागवत पौडेललगायतले बोल्नुभएको थियो ।
महिला उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गिरीप्रसाद भट्टराईले गर्नुभएको थियो भने धन्यवाद उपाध्यक्ष तिलकबहादुर गिरीले गर्नुभएको थियो ।
निवृत्त शिक्षक र कर्मचारी सम्मानित
यसैबीच लामो समयसम्म शिक्षण तथा विद्यालय कर्मचारीको रुपमा काम गरी निवृत्त हुनुभएका विभिन्न १२ जनालाई संगठनले दिवसको अवसरमा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पद्मप्रसाद शर्मा, विकास गौतम, जगदिश देवकोटा, दामोदर गौतम, मीनराज आचार्य, शेषमणि शर्मा घिमिरे, गोकर्ण प्रसाद खनाल, तुलसीराम अधिकारी, हुमलाल वली, उमाभक्त बस्नेत, केशर पुरी र हरीप्रसाद ज्ञवाली हुनुहुन्छ । उहाँहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस