घोराही, १ वैशाख । यात्रुहरुको सहजताका लागि दाङमा नमस्ते राप्ती यातायात प्रालि खुलेको छ । राप्ती समितिबाट बाहिरिएका व्यवसायीहरुको समूहले नयाँ प्रालि दर्ता गरेर यही वैशाख ६ गतेदेखि बस सञ्चालनमा ल्याउने प्रालिले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यात्रुहरुलाई भरपर्दो र सुरक्षित यात्रासहितको सुविधा दिनेगरी प्रालि सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ । घोराहीको होटल डोकोमा पत्रकार सम्मेलन गरी प्रालिले पदाधिकारीसहित सेवाका बारेमा जानकारी दिएको हो । प्रालिको अध्यक्षमा बामदेव खनाल, वरिष्ठ उपाध्यक्षमा सुदन केसी, उपाध्यक्षमा सोम पौडेल र ओमकार बोहरा, महासचिवमा प्रवीणकुमार पुनमगर, कल्याणकारी सचिवमा मूर्तिप्रसाद गौतम (शिबहरी), कोषाध्यक्षमा श्रीधर बुढाथोकी रहनुभएको छ ।
त्यसैगरी, प्रशासनिक उपसचिवमा प्रह्लाद श्रेष्ठ, कल्याणकारी उपसचिवमा जीतबहादुर बस्नेत, सह कोषाध्यक्षमा तिलक चौधरी, सदस्यहरुमा केशव गौतम, चित्रबहादुर डाँगी र टेकबहादुर बस्नेत रहनुभएको छ । प्रालिको सल्लाहकारमा मेघराज भुसाल, गणेश गिरी, किशोर केसी र मोहम्मद रङरेज (राजु खान) रहनुभएको छ ।
प्रालीले पहिलो चरणमा दाङ—काठमाडौ, दाङ—सल्यान रुकुम, घोराही—मूर्कुट्टी, दाङ—बुटवल, दाङ—कृष्णनगर, दाङ—नेपालगञ्ज, दाङदेखि भारतको नयाँदिल्लीका साथै जिल्लाका स्थानीय रुटहरुमा बस सञ्चालन गरिने प्रालिका अध्यक्ष बामदेव खनालले जानकारी दिनुभयो ।
प्रालिमा करिब ६० वटा बस रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जस्मा १० वटा नयाँ बस आउने बताइएको छ । डिलक्स १० र एसी ६ वटा बस रहेको अध्यक्ष खनालले जानकारी दिनुभयो । साथै प्रालिले यही बैशाख २ देखि १० गतेसम्म प्रालिमा आउन चाहने व्यवसायीहरुलाई समेत समेटेर अघि बढ्ने जनाएको छ ।
यात्रुहरुको मन जितेर सुरक्षित यात्रा गराउनेमा ढुक्क रहन अध्यक्ष खनालले आग्रह समेत गर्नुभएको छ । यात्रुमैत्री व्यवहारसँगै सुरक्षित यात्राका लागि आफूहरु फरक ढङ्गले आएको र एकद्वार प्रणालीबाट अघि नबढ्ने स्पष्ट पार्नुभयो । केही हप्ता पहिले भएको राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको निर्वाचनपछि केही व्यवसायीहरु प्रालि दर्तातर्फ लागेका हुन् ।
राप्ती समिति समयअनुसार चल्न नसकेको भन्दै उनीहरुले समयअनुसार र यात्रुमैत्री व्यवहार नै आफूहरुको पहिले शर्त भएको बताएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस