घोराही, ४ वैशाख । संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङको एकीकृत विकासका लागि साझा पहल र ठोस योजनाको आवस्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समितिले आज घोराहीमा आयोजना गरेको दाङको समृद्धिका लागि दूरदर्शी योजना विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले अबको गन्तव्य भनेकै समृद्ध दाङ भएको बताउनुभयो ।
विकासका लागि बजेटको अभाव नहुने तर काम गर्दा हुने ढिलाइले समस्या निम्तिएको भन्दै सभामुख महराले अब विकासको युग आएको दावी गर्नुभयो । उहाँले रणनैतिक महत्वका विषयलाई प्राथमिकतामा राखेर अब विकासलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
दाङलाई अन्तरजिल्ला जोड्ने गरी अबको विकासलाई केन्द्रित गर्ने र त्यसले आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने बताउनुभयो । सभामुख महराले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विवादमा ल्याउन खोजिएको प्रति सचेत रहन आग्रह गर्नुभयो । प्रदेशको स्थायी राजधानी दाङमा बनाउने बिषयमा आफूहरु कुटनीतिक र वैज्ञानिक ढङ्गले अघि बढेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अब विविधतासहितको विकास आवस्यक रहेको बताउनुभयो । अभाव र पछि परेका स्थानको छनोट गरेर मात्रै अघि बढ्ने धारणा उहाँको छ ।साथै उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अब प्रक्रियागत ढंगबाट अघि बढ्ने र विवादको विषय नै नभएको स्पष्ट पार्नुभयो । अब केन्द्र स्तरको प्रतिष्ठान, प्रदेशस्तरको अञ्चल अस्पताल र लमही अस्पताललाई तात्कालिक उपचार केन्द्रकारुपमा विकास गरिने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा रमेशकुमार अधिकारी र धरणिधर शर्माले जिल्लाको विकासका लागि आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस