घोराही, ७ वैशाख । नेपाल निजामति कर्मचारी संगठनको ३९ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी शुक्रवार घोराहीमा मनाइएको छ । संगठनका जिल्ला अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने उनीहरुको जोड थियो । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै वक्ताहरुले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कर्मचारीहरुले बदलिदो परिस्थितिमा कर्मचारी कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीले अहिलेसम्मका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्न कर्मचारीलगायत सबै एकजुट हुनुपर्ने बताउनुभयो । कर्मचारीका पेशागत सुरक्षाका विषयमा देखिएका अन्यौलता हटाउने गरी कानुन निर्माण गर्ने उल्लेख गर्दै उहाँले आवस्यक सुझावका लागि सबै कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल कर्मचारी संगठनका प्रदेश नं. ५ का सचिव शेरबहादुर केसीले कर्मचारीहरुका पेशागत अधिकार कुण्ठित गर्ने काम कसैबाट हुन नहुने बताउनुभयो । त्यस्तै एमाले दाङका पेशागत इन्चार्ज शरद अधिकारीले कर्मचारीहरुले नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । सो अवसरमा पेशागत महासंघ दाङका अध्यक्ष अरुणकुमार शर्मा, संगठनका सल्लाहकार सानुनारायण अधिकारी, स्वयं हेरचाह समूहका कमला मल्ललगायतले बोल्नुभएको थियो ।

संगठनका उपाध्यक्ष नारायण घर्तीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी अधिकारीले गर्नुभएको थियो । सो अवसरमा नेपाल निजामति कर्मचारी संगठनले आफनो स्थापना दिवसका अवसरमा स्वयं हेरचाह समूहका सदस्य तथा कुष्ठ रोगका विरामीहरुलाई खाद्यान्न सहयोग गरेको थियो । प्रमुख अतिथि अमर डाँगीले जीतराम खत्री, लिला शाह, कमला मल्ल ठकुरी, पार्वती विक, भूमिसरा पुन, बम्फाल बुढा, निमा बस्नेत, गंगा रोका र मेघराज घर्तीलाई विभिन्न खाद्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस