घोराही, ११ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अञ्चल समिति राप्तीले तत्काल यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रमा देखिएका समस्यालाई हल गर्न सरकारसँग माग गरेको छ ।
अञ्चल समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूहरु यात्रुमैत्री सेवासँगै राज्यको नीति नियम मान्न तयार रहेको भन्दै यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रलाई गुणस्तरीय बनाउन सरकारसँग माग गरेको हो ।
कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान उपमहानसचिव सुरेश हमालले यातायात व्यवसायीहरुसँग छलफलविना नै सरकार एकलौटीरुपमा अघि बढेको बताउनुभयो । सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मुलुकभरका यातायात समिति भङ्ग गर्दै आगामी असारदेखि यातायात कम्पनीमा दर्ता गर्नुपर्ने निर्णय गरे पछि विवाद चुलिएको छ ।
आफूहरु प्रालिमा रुपान्तरण भएर चल्न तयार रहेको तर राज्यले आफूहरुका मागलाई पनि सम्बोधन गर्नुपर्ने उहाँले माग गर्नुभयो । २०४१ सालदेखि निरन्तर कुनाकन्दरासम्म यातायात सेवा पुर्‍याएको दावी गर्दै हमालले सरकारले यातायात व्यवसायीको योगदानलाई नामेट पार्न थालेको गुनासो गर्नुभयो ।
आफूहरु सरकारले ल्याउने नीतिमा चल्न तयार रहेको तर नीति बनाउँदा आफूहरुको समेत कुरा समेट्नु पर्नेमा जोड दिनुभयो । आफूहरु प्रालिमै दर्ता भएर चल्ने र कर तिर्न पनि तयार रहेको भन्दै अञ्चल संयोजक भरतनाथ योगीले आफूहरुका सम्पत्तीको भने आफै व्यवस्थापन गर्न पाउनुपर्ने बताउनुभयो ।
समितिले जोडेका सम्पत्तीमा सरकारको कुनै लगानी नभएको भन्दै उहाँले त्यसको व्यवस्थापन आफूहरुले गर्ने र कर्मचारीहरुको व्यवस्थापनमा सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय महासंघका केन्द्रीय सदस्य चिन्तामणि आचार्य, ज्ञानबहादुर बस्नेत, प्रजातान्त्रिक यातायात व्यवसायी महासंघ प्रदेशका उपाध्यक्ष यमकान्त भण्डारी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले यात्रुहरुलाई सहज हुने र व्यवसायीहरु मारमा नपर्ने गरी निकासको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सहजीकण राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस