घोराही, ११ वैशाख । आवस्यक समन्वय नहुँदा दाङमा स्थानीय तहले थालेका सडक निर्माणमा वन कार्यालयसँग स्थानीयहरुलाई बाझिनु परेको छ । स्थानीय सरकारहरुले पहिले सडकको बिस्तार भए मात्रै अन्य विकासहरु सम्भव हुने भन्दै धमाधम गाउँमा सडक जोड्न थालेका छन् ।
कतिपय स्थानमा वन क्षेत्रबाट सडक निकाल्नु पर्ने भएपछि त्यस्ता स्थानहरुमा स्थानीय सरकार र वन कार्यालयबीच असमझदारीहरु उत्पन्न भएका छन् । देउखुरीको राजपुर गाउँपालिकामा पनि यस्तै घटना भएको छ ।
गाउँपालिकाको ५० लाख रुपैयाँ बजेटबाट निर्माण हुन थालेको सडकमा रुखहरु ढालेको भन्दै वन कार्यालयले एक जनालाई पक्राउ गरेपछि त्यहाँ स्थानीय र जनप्रतिनिधिहरु जिल्ला सदरमुकाममा आएका छन् ।
सल्लेरी सामुदायिक वन समूहका कोषाध्यक्ष एवं सडक निर्माण अनुगमन समितिका सदस्य तेजप्रसाद बाँठालाई वन कार्यालयले नियन्त्रणमा लिएपछि स्थानीयहरु जनप्रतिनिधिलाई लिएर प्रमुख जिल्ला अधिकारी र वन अधिकृतलाई भेट्न घोराही आएका हुन् ।
गढवा हुँदै राजपुर र भारतको सिमाना सुनपत्री नाका जोड्ने सडक खन्ने क्रममा रुखहरु काटिएपछि वन कार्यालयले विगत १२ दिनदेखि काम रोकेको छ । सडक खन्नु पूर्व आवस्यक समन्वय नहुँदा अहिले समस्या आएको हो ।सांसद रेवतीरमण शर्मा, गाउँपालिकाका अध्यक्ष लोकराज केसीसहितका जनप्रतिनिधि र स्थानीयहरुले वन कार्यालयमा घेराउ समेत गरेका छन् । प्रकृया पूरा नगरेर सडक खन्ने काम भएको भन्दै वन कार्यालयले एक जनालाई पक्राउ गरेको जनाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस