इन्द्र डिसी
दाङ, १३ वैशाख । जिल्ला समन्वय समिति दाङले जिल्लाका विभिन्न खोलाहरुमा अप्रेसन थालेको छ । जिल्लामा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी र उत्खनन् बढेपछि जिससले स्थलगत रुपमा अप्रेसन थालेको हो ।

बिहीबार दाङका खोलाहरुमा अवैध रुपमा ढुङ्गा, बालुवा गिट्टी उत्खनन् गरिरहेका टिप्पर र टेक्टर गरी १३ वटा साधन नियन्त्रणमा लिएको छ । ग्वारखोलाबाट ७ वटा टिप्पर, भमकेखोलाबाट एउटा टिप्पर र २ वटा टेक्ट्रर र घोराही क्षेत्रमा अवैध ढुङ्गा बोकेका ३ वटा टेक्टर नियन्त्रणमा लिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।
नियन्त्रणमा लिएका साधनहरु प्रहरीलाई जिम्मा लगाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख नेपालीको नेतृत्वमा बिहीवार अप्रेसनमा हिँडेको टोलीले उत्खनन् बन्द गरिएका खोलाहरुमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा फेला पारेको थियो ।  जिल्ला समन्वय समितिले केही दिनेदेखि अप्रेसनलाई प्रभावकारी बनाएको छ । बिहीबार टोलीले ग्वारखोला, भमकेखोलामा अप्रेसन गरेको थियो ।
त्यसैगरी बुधबार पनि राप्तीपुलदेखि माथितिर नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्दै गरेका सातवटा टेक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका टेक्टरलाई इलाका प्रहरी कार्यालय  गढवामा राखिएको छ ।

बबईबाट ढुङ्गा नियन्त्रण
यसैबीच अनुगमन टोलीले बबई गाउँपालिका ७ मा अवैध रुपमा सङ्कलन गरेर राखिएको २ हजार ३ सय घन मिटर ढुङ्गा पनि जफत गरेको छ । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख नेपाली, उप्रमुख श्रीधर शर्मा पौडेल, समन्वय अधिकारी कृष्णप्रसाद गौतम, जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारी र इञ्जिनियर थमप्रसाद पाण्डेको सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस