घोराही, १४ वैशाख । प्रमुख दल निकट विभिन्न विद्यार्थी संगठनहरुले विद्यालय भर्ना शुल्क रोक्न माग गर्दै दाङका स्थानीय तहमा धर्ना दिएका छन् । विद्यालय सञ्चालनको अधिकार स्थानीय तहमा आइसकेको अवस्थामा पनि सामुदायिक विद्यालयहरुले भर्ना शुल्क लिइरहेको र संस्थागत विद्यालयले पनि चर्को शुल्क लिएको भन्दै शुल्क रोक्न स्थानीय तहलाई दबाब दिएको संगठनहरुले बताएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले दाङका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा बुधवार दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले जानकारी दिनुभयो । विद्यार्थी संगठनहरुको केन्द्रीय कार्यक्रमअनुसार पहिलो चरणमा स्थानीय तहमा धर्ना कार्यक्रम गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

घोराही उपमहानगरपालिकाको मुल ढोकामा व्यानरसहित धर्नामा बसेका विद्यार्थी संगठनहरुले तत्काल भर्ना शुल्क रोक्न माग गरे । आफू मातहतका विद्यालयमा शुल्क लिने काम भएको छ, शुल्क लिनु संविधान बिपरीत भन्दै अनेरास्ववियुका अध्यक्ष वीरवल खड्काले भन्नुभयो,–’तपाईंहरुले शुल्क लिने विद्यालयलाई कारवाही गर्नुस् सक्नुभएन भने विद्यार्थी संगठन स्वयंले कारवाही गर्न बाध्य हुनेछौँ ।’

पहिलो चरणमा सजग गराउने कार्यक्रम भए पनि सुनुवाई नभए आन्दोलनमा जान बाध्य हुने नेविसंघका कार्यवहाक अध्यक्ष टोपबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले सबै बालबालिकालाई सहजरुपमा विद्यालय भर्ना हुने अधिकार कुण्ठित गर्ने काम भएको भन्दै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा अखिल क्रान्तिकारीका दाङ जिल्ला संयोजक जंग रोकाले विद्यार्थी आन्दोलनका विषयमा जानकारी गराउनुभएको थियो । विद्यार्थी संगठनहरुले शुक्रवार घोराही, तुलसीपुर र लमहीका संस्थागत विद्यालयको अनुगमन गरेका छन् । अनुगमनका क्रममा संस्थागत विद्यालय सञ्चालन निर्देशिका २०७२ को कुनै पनि विद्यालयले पालना नगरेको पाइएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले जानकारी दिनुभयो । उहाँकाअनुसार संस्थागत विद्यालयले अभिभावकको सहमति विना १५ देखि ३० प्रतिशत भर्ना शुल्क बृद्धि गरेको पाइएको छ ।

सो अवसरमा विद्यार्थीहरुले भर्ना शुल्क अभिभावकको सहमतिमा गर्न, १० प्रतिशत छात्रवृत्ति वितरणलाई पारदर्शी गर्न संस्थागत विद्यालयलाई आग्रह गरेका छन् । विद्यार्थीहरुले दाङका सबै संस्थागत विद्यालयको अनुगमन गरिने र निर्देशिका बिपरीत गरेका काम नसच्याइए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । दाङमा अहिले सामुदायिक विद्यालयले समेत प्रतिविद्यार्थी ५० देखि २ हजारसम्म भर्ना शुल्क लिएको पाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस