घोराही, १९ वैशाख । दाङको घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तालिम केन्द्र टेकु काठमाडौँले नेपाल परिवार नियोजन संघ घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरेको हो ।
तालिक केन्द्रको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । परिवार नियोजन सम्बन्धी सबै ज्ञान, सीप र परामर्शहरु दिने गरी तालिम केन्द्रको स्थापना भएको नेपाल परिवार नियोजन संघका तालिम अधिकृत निशा तिम्सिनाले जानकारी दिनुभयो ।
केन्द्रले परिवार नियोजन संघमा कार्यरत दुई जनालाई तालिम दिएर प्रशिक्षक बनाएको जनाएको छ । उक्त तालिम केन्द्रमार्फत सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुका व्यक्तिहरुलाई घोराहीमै परिवार नियोजन सम्बन्धी सबै तालिम दिइने तिम्सिनाको भनाइ छ ।
नेपाल परिवार नियोजन संघका सदस्य माया पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले तालिम केन्द्रलाई जनस्वास्थ्यको सम्पत्तिका रुपमा ग्रहण गरेको बताउनुभयो । नगर प्रमुख चौधरीले केन्द्रलाई तालिमसँगै सेवामा विस्वसनीयता र गुणस्तरीयता ल्याउन आग्रह गर्नुभएको छ ।
परिवर्तित समयमा जनस्वास्थ्य र परिवार नियोजनको महत्वलाई बुझेर सेवा प्रवाह गर्नु अहिलेको आवस्यकता भएको नगर प्रमुख चौधरीको भनाइ छ । तालिम केन्द्रबाट सिकाइने ज्ञान र सीपले जनसंख्या व्यवस्थापन र जनस्वास्थ्य सुधारमा केन्द्रीकृत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तालिम केन्द्रका डा. उत्तम घिमिरे, जनस्वास्थ्य अधिकृत चुरामणि भटराई, जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेल, राप्तीपोष्ट राष्ट्रिय दैनिकका सम्पादक शरद अधिकारी, रेडियो स्वर्गद्वारीका सम्पादक बसुन्धरा गौतम, परिवार नियोजन संघका पूर्व अध्यक्ष गणेशराज श्रेष्ठ, परिवार नियोजन सिफो टूका सन्ध्या कार्की, जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत किशोर आचार्य लगायतले परिवार नियोजन तालिम केन्द्रलाई सम्पत्तीका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
परिवार नियोजन क्लिनिकल तालिम केन्द्र सञ्चालनका लागि परिवार नियोजन संघ सिफो टूले आर्थिक सहयोग गरेको छ । कार्यक्रमको सहजीकरण संघका शाखा प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो । यसैबीच तालिम केन्द्रले बुधबारदेखि इम्प्लान्टसम्बन्धी तालिम सुरु गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस