दाङ, १९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा सञ्चालित दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गर्नु हरेक अभिभावकको दायित्व भएको बताउनुभयो । बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी घोराही उपमहानगरपालिकाका हरेक वडालाई बालमैत्री घोषणा गर्नेगरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।कार्यक्रमका अध्यक्ष तथा वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाले वडालाई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा बालअधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री स्थानीय तह घोषणा प्रक्रियालगायतका विषयमा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, प्रशिक्षकहरु दुर्गालाल केसी, जेएन सागर र लक्ष्मी केसीले प्रशिक्षण दिनुभएको थियो ।तालिमको अन्त्यमा उपप्रमुख न्यौपानेले १६ नं. वडाका विभिन्न टोलबाट सहभागी भएका ४० जनालाई वडालाई बालमैत्री घोषणा गर्न सक्रिय भएर काम गर्ने लिखित प्रतिबद्धता गराउनुभएको थियो । तालिम समापन कार्यक्रममा १६ नंं. वडाका सदस्य जगत श्रेष्ठ, दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतम, सहभागी बबिता श्रेष्ठ र खीमा घर्ती मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन १६ नं. वडा कार्यालयका सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस