घोराही, २० वैशाख । स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवालाहरुले घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङले बिहीबार घोराहीमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबीच स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक कार्यक्रममा सरोकारवालाहरुले आधारभूत आवस्यकताहरुलाई न्यूनतम रुपमा पूरा गर्न आग्रह गरेका हुन् ।
इन्सेकले घोराही उपमहानगरपालिकाभित्रका साविक लक्ष्मीपुर र सौंडियार गाविसमा निगरानी समूहमार्फत सरकारी निकायको सेवा प्रवाहका विषयमा निगरानी र समन्वय गर्दै आएको छ । कार्यक्रममा सहभागीहरुले राज्यले शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि व्यवहारमा लागु हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । शिक्षामा व्यापारीकरण बढ्दो रहेको र अहिले पनि धेरै बालबालिका विद्यालयको पहुँच बाहिर रहेको भन्दै त्यसतर्फ घोराही उपमहानगरपालिकालाई नीतिमा आधारित नियमन गर्न सुझाब दिएका छन् ।
त्यसैगरी, स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार हुन नसकेको भन्दै स्वास्थ्य सेवामा नागरिकहरुको सहज पहुँच स्थापितका लागि समेत ध्यानआकर्षण गराएका छन् । यस्तै खाद्य अधिकारमा नागरिकहरुको पहुँच र सूनिश्चितता अहिलेको आवस्यकता भएकोमा जोड दिए । जमिनको बढ्दो खण्डीकरण, विषादी प्रयोग, मिसावटलाई रोक्दै बजार अनुगमनमा स्थानीय सरकारले चासो दिनुपर्ने बताएका छन् ।
निगरानी समुह सल्लाहकार समितिका संयोजक केशवकुमार शर्माको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख न्यौपानेले नागरिकहरुको अधिकार र सेवालाई केन्द्रमा राखेर स्थानीय सरकारले काम गर्न थालेको भन्दै विस्तारै परिणाम देखिने बताउनुभयो ।
कार्यक्रममा उपमहानगर शिक्षा शाखा प्रमुख नारायण पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती र कृषि शाखा प्रमुख भरत पोख्रेलले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई मौलिक हकका रुपमा नागरिकलाई बुझाउन प्रयत्नशील रहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण इन्सेक प्रतिनिधि जेएन सागरले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस