घोराही, २२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले चालु आर्थिक वर्षमा ५४ वटा योजना सम्पन्न गरेको जनाएको छ । वडास्तर तथा नगरस्तरका ५४ वटा योजनाका काम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
वडास्तरमा रहेका ७४ वटा योजनाहरुमध्ये २० वटा योजनाहरुको काम पनि सञ्चालन भइरहेको वडाध्यक्ष लछिनप्रसाद बुढा मगरले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा वडा र नगरस्तरबाट गरी छ करोड नौँ लाख २४ हजार छ सय ९२ रुपैयाँ बजेट प्राप्त भएको थियो ।वडा नम्बर १६ मा वडास्तरबाट २९, नगरस्तरबाट १४, सहरी विकास मन्त्रालयबाट ३ वटा पूर्वाधार विकासको काम भएको वडाध्यक्ष बुढा मगरले जानकारी दिनुभएको छ । यस्तै सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत १०, सा‌ंस्कृतिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८ वटा, पशु विकास अन्तर्गत १ वटा र आयमुलक तालिम व्यवस्थापनअन्तर्गत ९ वटा कार्यक्रम सञ्चालन भएका थिए ।
वडा कार्यालयले वडास्तरका ५ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् भने नगरस्तरका योजनाहरुमध्ये ८ वटा योजनाको काम भइरहेको छ । सामाजिक समावेशीकरण कार्यक्रमहरुमध्ये ७ वटा योजनाहरुको काम भइरहेको वडाध्यक्ष बुढामगरले जानकारी दिनुभएको छ ।यसैबीच वडा कार्यालयले शनिवार चालु आर्थिक वर्ष २०७४/०७५ का कार्यक्रमको समीक्षा कार्यक्रम आज सम्पन्न गरेको छ । वडाध्यक्ष बुढा मगरको अध्यक्षता तथा नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले आफ्नो वडाको विकासमा आफै सक्रिय बन्न वडाबासीहरुलाई आग्रह गर्नुभयो । आवस्यकता र पहिचानमा आधारित आगामी आर्थिक वर्षका लागि योजनाहरु ल्याउन उहाँले वडाबासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने वडाबासीहरुले भौतिक पूर्वाधारसँगै सामाजिक विकासमा टेवा पुग्ने कार्यक्रमको माग गरेका छन् । कार्यक्रमको सहजीकरण वडा सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस