दाङ, २२ वैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरलाई बालमैत्री बनाउने तयारी भैरहेको बताउनुभएको छ । बालबालिकाका आधारभूत अधिकार संरक्षण गरी उनीहरुलाई बिभिन्न निर्णय प्रक्रियामा सहभागी गराउने रणनीति उपमहानगरले अवलम्बन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा घोराहीमा सञ्चालित दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले बालमैत्री उपमहानगर बनाउन बालविवाह न्यूनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिकालाई सानैमा विवाह हुनबाट बचाई उनीहरुको भविष्य सुरक्षित गर्ने दायित्व सबै वयस्कहरुको भएको उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्दै हिप्डेक नेपालका अध्यक्ष एवं तालिमका प्रशिक्षक विकिरण गौतमले बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार भएकाले बालबालिकाका आवाज सुनेर काम गर्नुपर्ने बताउनुभयो । हरेक विद्यालयमा बालमैत्री शिक्षण सिकाई गरी बालबालिकाले रमाउँदै सिक्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।

वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतम, सहभागीहरु कल्पना गौतम र नारायण पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण १६ नं. वडा कार्यालयका सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।तालिमका प्रशिक्षकहरुमा विकिरण गौतम, दुर्गालाल केसी, जेएन सागर र लक्ष्मी केसी रहनुभएको थियो । तालिममा १६ नं. वडाका विभिन्न विद्यालयका बालबालिका र शिक्षक गरी ४० जनाको सहभागिता रहेको थियो । तालिमको अन्तमा सबै विद्यालयले बालविवाह न्यूनिकरणका लागि विद्यालयमा गर्न सकिने गतिविधिहरुको कार्ययोजना तयार पारेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस