घोराही, २६ वैशाख । परिवर्तन समूहले दाङमा सुईबाट लागु औषध प्रयोग गर्नेहरु एचआइभी एड्सको जोखिम रोक्नेगरी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । समूहको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा आज घोराहीमा परिचयात्मक बैठकको आयोजना गरी लागुऔषध सेवन गर्नेहरुले प्रयोग गर्ने सुईबाट एचआइभीको संक्रमण हुनसक्ने भन्दै सचेतनाको कार्यक्रम गर्न लागेको जनाएको हो ।

परिवर्तन समूहका कार्यक्रम संयोजक इन्द्राकुमारी जिसीले दाङमा साढे ९ महिनाका लागि कार्यक्रम आएको र १७ लाख ३८ हजार ९३ रुपैयाँ रहेको जानकारी दिनुभयो । सुईद्वारा लागुऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्ने र उनीहरुले प्रयोग गर्ने सुईबाट सर्नसक्ने एचआइभी संक्रमणको जोखिमबाट टाढा राख्नेगरी कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

साथै समूहले बालसंरक्षणको नीतिहरुलाई समेत नागरिकस्तरमा कार्यक्रममार्फत लैजाने जनाएको छ । सुईबाट लागुऔषध प्रयोग गर्नेहरुलाई तात्कालिन क्षतिबाट बचाउने गरी कार्यक्रम ल्याइएको संयोजक जिसीको भनाइ छ ।

समुहका डिआइसी इन्चार्ज प्रेमनारायण विकले दाङका ७ सय ३२ जना युवकहरु सुईबाट लागुऔषध प्रयोग गर्नेको संख्या रहेको बताउनुभयो । उनीहरुको रगत परीक्षणबाट एकजनामा मात्रै सुईको प्रयोगबाट लागुऔषध प्रयोग गर्दा एचआईभीको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनलगायतले लागुऔषध प्रयोगलाई निरुत्साहित गर्न सेचतना र अभिभावक जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस