घोराही, २८ वैशाख । शैक्षिक क्षेत्रलाई सुधार गर्न घोराही उपमहानगरपालिका कडारुपमा प्रस्तुत हुन थालेको छ । शैक्षिक गुणस्तर वृद्धिका नाममा र लापर्वाहीहरु हुने क्रम बढेको गुनासोपछि घोराही उपमहानगरपालिकाले विद्यालयको अनुगमनमा कडाइ गरेको हो ।
उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक भरत अर्यालको संयोजकत्वमा रहेको विद्यालय अनुगमन समितिले आज नगर क्षेत्रका ६ वटा विद्यालयमा अनुगमन गरेको छ । दुईवटा सामुदायिक र चार वटा निजी विद्यालयहरुको अनुगमन गर्दा सबै विद्यालयमा कमजोरी भेटिएको समितिका संयोजक भरत आर्यालले जानकारी दिनुभयो । गोरक्ष रत्ननाथ मावि चौघेरामा १० जना शिक्षकहरु विद्यालयमा जानकारी नै नगराएर अनुपस्थित भएको पाइएको र सरस्वती मावि काठेकोहलमा एकजना शिक्षक अनुपस्थित भएको पाइएको अर्यालले बताउनुभयो ।
ती विद्यालयका प्रधानाध्यापकहरुलाई शिक्षा इकाइले जानकारी नगराएर शिक्षकहरु बिदामा बसेको विषयमा स्पष्टिकरण सोध्ने भएको छ । यसैगरी, अनुमन समितिले संस्थागत विद्यालयहरु माउन्ट भ्यू, गोर्खा, मनकामना र ज्ञानोदय विद्यालयको अनुगमन गरेको जनाएको छ ।
ती विद्यालयहरुमा पनि नियमानुसार शुल्क नलिएको पाइएको छ । साथै ती विद्यालयहरुलाई तत्काल विद्यालय व्यवस्थापन समिति गठन गर्न र हालै बृद्धि गरिएका शुल्क तत्काल नलिन टोलीले निर्देशन दिएको छ ।
यसैबीच अनुगमनपछि बसेको बैठकले संस्थागत विद्यालयहरुले १० प्रतिशत रकम छात्रबृद्धिमा छुट्याउने, विद्यालय व्यवस्थापन समिति तत्काल गठन गर्ने, बालमैत्री व्यवहारहरु गर्दै बाल सहभागिता बढाउने र आगामी जेठ २० गतेसम्म बृद्धि गरिएको शुल्क नलिने निर्णय गरेको छ ।
 अनुगमनमा सामाजिक विकास समितिका संयोजक भरत अर्याल, सदस्य विष्णुमणि दाहाल, शिक्षा इकाई प्रमुख नारायण पौडेल, प्याब्सनका अध्यक्ष यादव गिरी र विद्यालय संगठनका प्रतिनिधिहरु सहभागी थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस