घोराही, ४ जेठ । बिहीबार गंगामावि रामपुरमा दिउँसो सवा दुईबजे पुग्दा विद्यालय बाहिर एउटा पनि विद्यार्थी थिएनन् । सबै विद्यार्थीहरु कक्षा कोठामा थिए । केही शिक्षकहरु विद्यार्थीहरुसँगै थिए भने केही कार्यालयमा । शिक्षाको अवस्थाका बारेमा अनुगमन गर्न पुगेको टोली विभिन्न कोठाहरुमा पुगे । निकै शान्त थियो स्कुलको बाहिरी वातावरण भने भित्री केही कोठाहरुमा लय हालेर शिक्षक विद्यार्थीले पढिरहेका थिए । अनुगमन टोलीले विद्यालयमा शैक्षिक कार्य सुधार हुँदै गएको निष्कर्ष निकाल्दै शिक्षकहरुसँग करिब १५ मिनेट सुधारका विषयमा छलफल समेत गर्‍यो ।
शिक्षकहरुलाई निर्देशन दिँदै सामाजिक विकास समितिका संयोजक भरत अर्यालले विद्यालयमा हाँसेर प्रवेश गर्न निर्देशन दिनुभयो । ‘बालबालिकाको मनोविज्ञान बुझेर पढाउनुहोला, शिक्षकले जाँगर  लगाएर पढाएन भने समयको बर्बादी मात्रै हुन्छ’ संयोजक अर्यालले भन्नुभयो ‘अधिकतम शैक्षिक सामग्रीहरुको प्रयोग गरेर पढाउने गरियो भने गुणस्तरीय शिक्षा दिन सक्छौँ, मुस्कानसहित ज्ञान लिएर कक्षा कोठामा प्रवेश गरेर ज्योति छर्नुहोला । अब कुनै पनि बाहनामा कसैले ठग्ने दिन गयो, जाँगर लगाएर पढाउनु होला ।’घोराही उपमहानगरको शिक्षालाई राम्रो बनाउन उपमहानगरले पहिलो चरणमा अनुगमनलाई तिब्रता दिएको छ । ‘पहिलो चरणमा अवस्था अध्ययन गर्दैछौँ’ शिक्षा शाखा प्रमुख नारायण पौडेलले भन्नुभयो, ‘अनुगमनपछि सुधारका योजनाहरुलाई लागु गर्छौ ।’ अनुगमनका क्रममा केही विद्यालयहरुमा शिक्षकहरुले लाठीको प्रयोग गरेको भेटाएपछि शिक्षकलाई ‘लाठी हैन शैक्षिक सामग्रीहरु प्रयोग गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो ‘हामीले शिक्षण विधिलाई अबलम्बन गर्ने हो, लाठी प्रहरीले बोक्छ शिक्षकले हैन ।’
उपमहानगरको सामाजिक विकास समितिको अगुवाइमा बिहीबार शिक्षा इकाइ, शिक्षक महासंघ, प्याब्सन र विद्यार्थी संगठनहरुको सहभागितामा विद्यालयहरुको अनुगमनलाई उपमहानगरले जारी राखेको हो । घोराही उपमहानगरपालिका २ र ४ मा रहेको विद्यालयहरुको अनगुमन गरेको छ । वडा नम्बर २ मा रहेको गंगा मावि रामपुर, जनता मावि बुका, नवचेतना शैक्षिक बोर्डिङ स्कुल, वडा नम्बर ४ मा रहेका मावि गोग्ली र सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको अनुगमन भएको छ ।
अनुगमनका क्रममा सामुदायिक विद्यालयहरुमा केही शिक्षकहरु अनुपस्थितसँगै विद्यालय पोशाक समेत नलगाएको पाइएको छ । मावि गोग्लीमा ११, मावि बुकामा २ र गंगा मावि रामपुरमा ४ जना शिक्षक अनुपस्थित भएको पाइएको छ । त्यसैगरी मावि बुकामा ३, गंगा मावि रामपुरमा २, गोग्लीमा २ जना शिक्षकहरुले ड्रेस नलगाएको पाइएको छ । अनुगमन टोलीले सामुदायिक शिक्षकहरुलाई अनिवार्यरुपमा ड्रेस लगाउन र निवेदन दिएर स्वीकृत भए मात्रै बिदामा बस्न निर्देशन दिएको छ । साथै निजी विद्यालयमा अभिभावक समिति नै गठन नगरी शैक्षिक शुल्क लिएको भन्दै तत्काल शिक्षा नियमावलीअनुसार अघि बढ्न निर्देशन दिएको छ ।
त्यसैगरी शिक्षकहरुलाई उचित पारिश्रमिक दिन र शैक्षिक शुल्कलाई भौतिक निर्माणमा खर्च नगर्न पनि निर्देशन गरेको छ । त्यसैगरी, टोलीले विद्यालयमा सरसफाईको उचित व्यवस्थापन गर्न र शिक्षण सिकाइलाई बालमैत्री बनाउन निर्देशन दिएको छ । साथै पिउने पानीलाई पनि सुरक्षित बनाउन निर्देशन दिएको छ । अनुगमनमा सामाजिक विकास समितिका संयोजक भरत अर्याल, वातावरण तथा बिपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर २ का अध्यक्ष केशव आचार्य, शिक्षा इकाइ प्रमुख नारायण पौडेल, स्रोतव्यक्ति बिप्लब अधिकारी, शिक्षक महासंघका नगर अध्यक्ष निशान्त आचार्य, प्याब्सनका अध्यक्ष यादब गिरी, अखिल क्रान्तिकारीका सन्तोष पोख्रेल, नेविसंघका टोपबहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस