दाङ, ९ जेठ । स्थानीय तहमा बालमैत्री शासनको विकास भए मात्र बालबालिकाहरु अधिकार सम्पन्न बन्ने एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । देशभर रहेका ४२ प्रतिशत बालबालिकाहरुलाई अधिकार सम्पन्न बनाए मात्रै नयाँ पिढीले देशको लागि केही गर्नसक्ने निष्कर्ष निकालेका हुन् ।
बंगलाचुली गाउँपालिकाको आयोजनामा मंगलबार आयोजित बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले बंगलाचुली गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा विकास गर्न आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले स्थानीय तहमा अधिकार धेरै भए पनि अधिकार सम्पन्न बनाउनका लागि केही कानुनी जटिलताका कारण समस्या उत्पन्न भएको बताउनुभयो । गोष्ठीमा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली,उपाध्यक्ष यमुना थापामगर, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आठवटै वडाका अध्यक्षहरु, वडा सचिव तथा सामाजिक परिचालकहरु, गाउँपालिकामा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यशाला गोष्ठीको प्रशिक्षकमा विकिरण गौतम रहनुभएको थियो । प्रशिक्षक गौतमले सहभागीहरुलाई स्थनीय बालमैत्री शासन, बालबालिकाको अधिकार, बालविकास,योजना तर्जुमा लगायतका विषयमा प्रशिक्षित गराउनुभएको थियो ।
यसअघि बंगलाचुली गाउँपलिकाका ८ वटै वडामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न गरिएको थियो । बंगलाचुली गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गराउनका लागि प्रत्यक वडाहरुमा सो कार्यक्रम गरिएको बंगलाचुली गाउँपालिकाका महिला विकास शाखाकी प्रमुख पार्वती रानाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस