घोराही, ९ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ ले आज मर्पामा आयोजना गरेको एकीकृत स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले स्वास्थ्य नै सम्पत्ति भएको भन्दै यसलाई खेलवाडका रुपमा लिन नहुने बताउनुभयो ।
कुनै पनि रोगलाई नलुकाउन आग्रह गर्दै नगर प्रमुख चौधरीले समयमै उपचार गर्न सुझाव दिनुभयो । आर्थिक लगानीविनै पनि स्वास्थ्यलाई स्वस्थ राख्न सकिने भन्दै उहाँले दैनिकी एवं आधारभूत व्यवहारलाई सुधार्नु पर्नेमा जोड दिनुभयो ।
सरसफाईको अभाव, कुलत, दूषित खाना, शौचालयको सही व्यवस्थापन नहुँदा विभिन्न रोगहरु  लाग्ने भएको हुँदा यी सबै पक्षको व्यवस्थापनका लागि गरिने लगानी खेर नजाने उहाँले बताउनुभयो ।कार्यक्रममा उपप्रमुख सीता न्यौपानेले स्वास्थ्य नै अमूल्य सम्पत्ती भएको बताउनुभयो । स्वस्थ भए मात्रै पारिवारिक र सामाजिक विकास सम्भव हुने भएकाले स्वास्थ्यमा लगानी गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा डा. नागेश्वर मिश्र, घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, ठाकुर खनाल लगाएतले बोल्नुभएको थियो ।
उपचारका लागि आएका नागरिकहरुले गाउँमै एकीकृत स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । शिविरमा विषेश गरी महिलाहरु र जेष्ठ नागरिकहरु सहभागी भएर उपचार सेवा लिएका छन् । महिलाहरुमा पाठेघरको समस्या, दम, शरीर दुख्ने लगायतका समस्याहरु देखा परेको छ ।
शिविरमा डाक्टरहरु नागेश्वर मिश्र, रविन चन्द र अनुपमा शर्माले विरामीको स्वास्थ्य जाँच गर्नुभएको छ । साथै शिविरमा नेपाल परिवार नियोजन संघको सहयोगमा महिलाहरुको पाठेघरमा क्यान्सर भए नभएको जाँच समेत गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस