SAMSUNG CAMERA PICTURES
दाङ, ९ जेठ । दाङको घोराहीमा रहेका डेरी पसलहरु मापदण्ड बिपरित सञ्चालन भएको पाइएको छ । घोराहीका अधिकांश डेरी पसल सञ्चालकहरुले डेरी पसलको रुपमा दर्ता गरेर कफी हाउस र किराना पसलहरु सञ्चालन गरेको पाइएको छ भने किराना पसल र कफी हाउसको रुपमा दर्ता गरेर डेरी पसलहरु सञ्चालन गरिरहेको पाइएको हो ।
बुधबार स्थानीय प्रशासन र विभिन्न निकायहरुले गरेको अनुगमनका क्रममा घोराहीका डेरी पसलहरु प्रचलित मापदण्ड बिपरीत सञ्चालन भएको पाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । घोराहीका राम्रा भनिएका करिब १० वटा डेरी पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा कतिपय डेरीहरु सम्बन्धित निकायहरुमा दर्ता नभई सञ्चालनमा भएको पाइएको छ ।सामान्यतया डेरी पसल सञ्चालकहरुले दुग्धजन्य वस्तुहरुको साथै चिया, कफी समेत बेच्दै आएको पाइएको छ तर त्यो डेरी उद्योगको मापदण्डमा नपर्ने उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताउनुभयो । यस्तै धेरैजसो डेरी पसल सञ्चालकहरुले किराना सामग्रीहरु समेत बेच्दै आएको पाइएको उहाको भनाइ छ । घोराहीको गणेश मन्दिर नजिकै रहेको रिजाल कफी हाउस, नयाँ बजारमा रहेको पाण्डउ कफी हाउस्, लखनपार्क नजिकै रहेको सीमा एण्ड फोसिस डेरी, रिजाल कफी हाउस्, शहीद उमेशमार्गमा रहेको लीला डेरी, लमही डेरी र नेपाल परिवार नियोजनको कार्यालय अगाडी रहेको सुवेदी स्टोर लगायतका पसलहरुमा छड्के अनुगमन गरिएको थियो ।
डेरी पसलहरुमा सरसफाई तथा गुणस्तरीयतामा समेत कमजोरी पाइएपछि सुधार गर्न एक साताको समय दिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । बाहिरबाट आएको दूध राख्दा पनि क्यानमा आएको दूध मात्र राख्न डेरी सञ्चालकहरुलाई आग्रह गरिएको छ । अन्यथा जर्किनमा ल्याएका दूधलाई प्रतिबन्ध लगाउने उहाँको भनाइ छ । डेरी सञ्चालक संघका अध्यक्ष ईश्वरी घिमिरेको लमही डेरीमा समेत अनुगमन गरीएको थियो । एक साताभित्र घोराहीका डेरी पसलहरुमा मापदण्डअनुसार नै सुधार गर्ने अध्यक्ष घिमिरेले प्रतिबद्धता जनाउनुभएको छ ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, डेरी सञ्चालक संघका अध्यक्ष इश्वरी घिमिरे, पत्रकार नवीन अभिलाषीलगायत सहभागी हुनुहुन्थ्यो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस