घोराही, १२ जेठ । बालबालिकाको सर्वोत्तम हितका कार्यक्रममा लगानी अावश्यक रहेको घोराही उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत बालकृष्ण खनालले बताउनुभएको छ ।  घोराही उपमहानगरपालिका वडा नम्बर ११ को आयोजनामा शुक्रबारदेखि खैरामा सञ्चालित बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आज समापनका अवसरमा बोल्दै प्रमुख अतिथि खनालले बालबालिकाका क्षेत्रमा थुप्रै रकम खर्च गरिए पनि त्यसको प्रतिफल सोचेअनुसारको नभएकाले बालबालिकाकोआवश्यकता एव‌ं प्रतिफलमुखी कार्यक्रममा लगानी आवश्यक भएको बताउनुभएको हो ।
त्यसैगरी  कार्यक्रमका अध्यक्ष एव‌ं  ११ नं. वडाका अध्यक्ष कुलबहादुर लामिछानेले आफूहरु वडालाई बालमैत्री बनाउने अभियानमा जुटेको भन्दै यस अभियानमा सहभागी हुन सबैमा आग्रह गर्नुभएको थियो । बालबालिकाहरुको सुन्दर भविष्यका लागि उनीहरुलाई उचित वातावरण एव‌ं अवसरको खाँचो रहेको भन्दै उहाँले हरेक परिवारले आफ्ना बालबालिकाहरुको इच्छा चाहनाअनुसार सहज वातावरण एव‌ं पहुँच स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।
आजका बालबालिका भोलि समाज र देश चलाउने व्यक्ति भएको भन्दै बालबालिकाको चौतर्फी विकासमा आजै लगानी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । बालबालिकाहरुको कुरालाई ध्यान दिएर सुन्ने बानीको विकास अझै नभएको भन्दै बक्ताहरुले बाल सुनुवाइमा जोड दिएका छन् ।
अभिमुखिकरणको प्रशिक्षकहरुमा विकिरण गौतम, बालकृष्ण खनाल र शरद अधिकारी रहनुभएको थियो । कार्यक्रममा वडामा रहेका विद्यालयका बालक्लबका प्रतिनिधि, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, आमा समूह र महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस