चिराघाट, १२ जेठ । ३ वर्षअघि झाडावान्ताकै कारण भाइ गुमाउनु पर्‍यो, दुई छिमेकी पनि त्यही माहामारीमा गुमाएको घटना बिर्सन नपाउँदै शान्तिनगर गाउँपालिका–३ गाहा टोलका टेकबहादुर दमाईलाई शनिवार गाउभरि फेरि उस्तै रोग फैलिएपछि झस्कायो ।
शनिवार छिमेकीहरु पखालाले बिरामी परिरहेका थिए, एकाएक १५ वर्षीया छोरी सुशीला पनि बिरामी परेपछि राप्ती अञ्चल अस्पताल पुग्नु भएका दमाई विगत नदोहोरियोस् भन्दै अस्पतालको शैय्यामा कल्पिदै हुनुहुन्थ्यो । २०७३ सालमा सोही ठाउँमा फैलिएको झाडापखालाले टेकबहादुरका भाइ रामबहादुर परियारसहित अन्य दुइजना छिमेकीले ज्यान गुमाएका थिए भने पूरै गाउँ बिरामी परेको थियो । ‘रोग फेरि दोहोरिए पनि रोगकै कारण परिवारका सदस्य गुमाउने अवस्था नदोहोरियोस्’ तारन्तार वान्ताले लखतरान परेकी छोरीको उपचारमा खटिनुभएका टेकबहादुरले पत्रकारहरुसँग भन्नुभयो ।  माइलीपानी खानेपानी मुहानको पानी दुषित भएपछि शनिवार शान्तिनगर गाउँपालिका ३ र ४ का ३ सय ८२ बढी स्थानीयहरु एकैसाथ बिरामी परे । पेट कडारुपमा दुख्ने र लगातार पखाला तथा वान्ता हुने समस्या स्थानीयमा देखिएको उपचारमा संलग्न शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी दिनुभयो ।
बिरामी हुनेहरु सबै माइलीपानी खानेपानी मुहानकै धाराको पानी प्रयोग गर्ने उपभोक्ताहरु छन् । ‘केहीलाई अस्ति पनि समस्या देखिएको थियो, हिजो पनि २०/२५ जनामा समस्या देखियो’ शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भन्नुभयो ‘आज त धौ सम्हाल्नु नै भयो, आज मात्रै ३ सय बढी बिरामी आएका छन् ।’ आएका बिरामीहरुको निःशुल्क उपचार गरिएको समेत उहाँले जानकारी दिनुभयो । अवस्था नियन्त्रणमै रहेको जानकारी दिँदै स्वास्थ्य चौकी प्रमुख हरि पुनले खानेपानी दूषित भएकै कारण झाडापखाला फैलिएको जानकारी दिनुभयो । प्रारम्भिक परीक्षणमा पानीकै कारण झाडापखाला फैलिएको देखिएको छ ।झाडापखालाका बिरामीमध्ये २४ जनाको राप्ती अञ्चल अस्पताल, १ जनाको सिटी र थप १ जनाको राप्ती लाइफ केयरमा उपचार भइरहेको छ भने बाँकी सबैको चिराघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । धेरैजसो उपचारपछि घर फर्किसकेको र राती अबेरसम्म थप नयाँ बिरामी पनि आउनेक्रम चलिरहेको स्वास्थ्य चौकीले जनाएको छ ।
माइलीपानी खानेपानीको मुहानमा केही दिन अघि परेको पानीको भल रिजर्व ट्रयाङ्कीमा पसेपछि पखाला फैलिएको स्थानीयले बताएका छन् । पानीमा खासै समस्या नरहेको माइलीपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र बस्यालले बताए पनि सोही समितिअन्तर्गतकै ८ सय ५१ घरधुरी मध्यका उपभोक्ताहरु बिरामी परेका हुन् । गाउँपालिकाका अनुसार चिराघाट, पातेटाकुरा, गाहाटोल, एकली, अधेरेलगायतका टोलहरु प्रभावित भएका छन् ।
यसैबीच प्रदेशसभा सदस्य उत्तरकुमार वली, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलगायतको छुट्टाछुट्टै टोलीले बिरामीहरुलाई भेटेर औषधि उपचारमा समस्या हुन नदिने बताउनुभएको थियो । चिराघाट स्वास्थ्य चौकी, राप्ती अञ्चल अस्पतालमा पुगेर बिरामीको उपचारको अवस्थाको जानकारी लिँदै निःशुल्क उपचारको व्यवस्था गरिएको उहाँहरुले बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस