शान्तिनगर (दाङ), १३ जेठ । शान्तिनगर गाउँपालिकाका दुई वडामा शनिबार विहानदेखि फैलिएको झाडापखाला आइतबार बेलुकासम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आइतबार बेलुकासम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरि पुनले बताउनुभयो ।

शनिबार रातीसम्म ४ सय १९ र आइतबार थप ८ सय २ बिरामी भएको उहाँले जानकारी दिनुभयो । रातीसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले यो संख्या थपिनसक्ने उहाँले बताउनुभयो । शनिबार उपचारपछि घर फर्केका ३० जना आइतबार फेरि बिरामी भएर आएको पुनले बताउनुभयो । घर फर्केर फेरि प्रदूषित पानी नै पिएपछि उनीहरु बिरामी परेको पुनले जानकारी दिनुभयो । तीनवटा एम्बुलेन्सले नियमित बिरामी ओसारिरहेका छन् ।

बिरामी हुने क्रम बढेपछि स्थानीय बिपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल दुई दिनका लागि बन्द गरिएको छ । अधिकांश बिरामीहरु महिला र बालबालिका छन् । शान्तिनगर–३ पातेटाकुराकी ४७ बर्षीया डिला चन्दको अवस्था गम्भीर भएपछि उनलाई नेपालगञ्ज रिफर गरिएको छ । अन्यको स्वास्थ्य चौकीमा आयोजित शिविरमा उपचार गरिएको छ ।

माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदूषण भएपछि ३ र ४ नं. वडामा झाडापखाला फैलिएको हो । झाडापखालाबाट वडानं. ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरु बढी प्रभावित भएको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताउनुभयो । अन्य खानेपानीको विकल्प नभएकाले प्रदूषित मुहानकै पानी पिउँदा झाडापखाला नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । प्रत्येक घरमा कम्तिमा दुईजना बिरामी भएको डाँगीले बताउनुभयो ।

बिरामीको संख्या बढ्दै गएपछि आइतबार दिनभर विशेषज्ञ चिकित्सकसहित चार ठाउँमा स्वास्थ्य शिविर चलाइएको थियो । नेपाली सेनाको फिल्ड अस्पताल नेपालगञ्ज र १९ नं. बाहिनी तुलसीपुरबाट चिकित्सकसहितको टोली शान्तिनगर पुगेर उपचारमा खटेको छ । डा. सुमन गुरुङ, डा. सिर्जना थापा, डा. सुम्निमा राई र स्वास्थ्य प्राविधिकसहित आठ जनाको टोली उपचारमा संलग्न भएको छ ।
यसैगरी राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट डा. गोविन्द ढकाल र डा. महेश कर्माचार्य तथा तुलसी अस्पतालबाट डा. शरद ओली र पाँचजना नर्सहरुको टोली उपचारमा खटेको छ ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थी, डा. जीतनारायण यादव, डा. छवी खड्कासहित स्वास्थ्यकर्मीहरु कुमार केसी र प्रदीप पुडासैनीको टोली औषधीसहित झाडापखाला प्रभावित क्षेत्र पुगेको थियो । उपचारका क्रममा औषधी अभाव हुन नदिन पर्याप्त तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताउनुभयो ।

नेपाली सेनाको रिपुमर्दन गण घोराहीबाट सहसेनानी नारायणबहादुर विष्टको नेतृत्वमा ४२ जनाको टोली खानेपानी मुहानमा पुगेर सरसफाई गरेको छ । खानेपानी मुहानको अवस्था अवलोकन र पानी परीक्षण गर्न जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको टोली मुहानमा पुगेको थियो । चारवटा मुहानमध्ये दुईवटा मात्रै सुरक्षित रहेको निमित्त डिभिजन प्रमुख तिलक न्यौपानेले बताउनुभयो । दुईवटा मुहानमा खोलाको पानी सिधै ट्यांकीमा जोडिएकाले प्रदुषण भएको उहाँले जानकारी दिनुभयो ।

अस्थायीरुपमा खोलाबाट सिधै जोडिएका मुहानका पाइप हटाइएको उहाँले बताउनुभयो ।
अब पानीको सबै पाइपलाइन नै शुद्धिकरण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले जानकारी दिनुभयो । अहिले उक्त मुहानको पानी प्रयोग नगर्न सबैलाई सूचित गरिएको न्यौपानेले बताउनुभयो । पानी शुद्धिकरण नहुँदासम्म तुलसीपुरबाट ट्याङ्करमा बोरिङको शुद्ध पानी पठाइरहेको उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस