दाङ, १४ जेठ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पाँच दिनदेखि झाडापखालाको प्रकोप फैलिएपछि स्थानीय दुईवटा विद्यालय बन्द गरिएको छ । बिहीबारदेखि फैलिएको झाडापखालाले गाउँका पूरै मान्छेहरु बिरामी परेपछि संक्रमणको डरले दुई दिनका लागि विद्यालय बन्द गरिएको शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा अधिकृत घनश्याम वलीले जानकारी दिए । वलीका अनुसार वडा नं. ३ पातेटाकुरामा पर्ने बिपी मावि बयाले सिम्तारा र स्थानीय उमाचन्द्र इङ्लिस बोर्डिङ स्कुल जेठ १३ र १४ गते बन्द गरिएको हो । दुवै विद्यालयमा १ हजार दुई सय बढी बालबालिकाले अध्ययन गर्छन् ।

Advertisements

अझै नियन्त्रणमा आएन झाडापखाला
पाँचदिनदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआएको शान्तिनगर स्वास्थ्य चौकीले जनाएको छ । चौकीका इन्चार्ज हरि पुनका अनुसार ५० बढी बालबालिकासहित जेठ १४ गतेसम्म एक हजार तीनसय ७५ जना बिरामीको उपचार गरिएको छ । धेरैजसो घर फर्किसकेको भए पनि एकसयको हाराहारीमा अझै उपचारको क्रममा रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

केहीको स्वास्थ्य चौकीमै, केहीको राप्ती अञ्चल अस्पताल र एकजनाको नेपालगञ्ज रिफर गरिएको पुनले बताए । माइलीपानी खानेपानी मुहानको ट्याङ्कीमा १५ दिनअघि भल पानी पसेकाले दूषित पानीका कारण पखाला फैलिएको अनुमान गरिएको छ । उक्त खानेपानी ट्याङ्कीको सरसफाई गरिएको छ भने अहिले तुलसीपुरबाट ट्याङ्करमा पानी बोकेर स्थानीयलाई खुवाउने काम भइरहेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । नयाँ बिरामी आउनेक्रम नरोकिएको र उपचारका लागि औषधि पर्याप्त राखिएको स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस