घोराही, २५ जेठ । दाङको घोराहीमा शुक्रबारदेखि प्रथम घोराही नगरस्तरीय मेयरकप रनिङ फुटबल प्रतियोगिता सुरु भएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय मेयरकप रनिङ फुटवल प्रतियोगिता सुरुभएको हो ।नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा मेयर कप प्रतियोगिता सुरुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले खेल क्षेत्रलाई विद्यालय शिक्षाबाटै प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । खेलकुदलाई शिक्षाका रुपमा लिन आवस्यक रहेको भन्दै खेल अनुशासन र मेहनतको पर्यायवाची भएको समेत उल्लेख गर्नुभयो ।गाउँगाउँमा खेलका सीप सिकाउँदै पूर्वाधार तयार गर्न स्थानीय सरकार र युवाहरुलाई प्रमुख नेपालीले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, पूर्व खेलाडी केदारराज श्रेष्ठलगायतले उपमहानगरले खेल क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्नुभयो ।
साथै उहाँहरुले अब स्थानीय सरकारले वडा तथा गाउँस्तरमा खेलको पूर्वाधार निर्माणसँगै खेलाडीलाई उत्साह र तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले खेल क्षेत्रको विकासमा स्थानीय सरकार प्रतिबद्ध र सकारात्मक रहेको बताउनुभयो । प्रत्येक वडामा खेल मैदान बनाउने योजना समेत रहेको उहाँको भनाइ छ ।स्वस्थ र अनुशासनका लागि खेल आवस्यक रहेको भन्दै नगर प्रमुख चौधरीले खेलाडीहरुको बीमा र लगानीमा उपमहानगरले पहल गर्ने समेत आश्वासन दिनुभयो । प्रतियोगिताका संयोजक खोपिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले गर्नुभएको थियो ।आजदेखि सुरु भएको प्रतियोगिता असार ११ गतेसम्म चल्नेछ । खेल उद्घाटन पूर्व घोराही बजारमा खेलाडी, टोल विकास संस्था, जनप्रतिनिधिहरुले प्रभातफेरि समेत गरेका थिए ।

पहिलो खेलमा वडा नं. ५ विजयी
आज भएको पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई शून्यका विरुद्ध ६ गोलले पराजित गरेको छ । प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर ५ र ८ का खेलाडीहरुबीच भएको थियो । वडा नम्बर ५ का खेलाडी नविन बस्नेतले ३, पूर्ण नेपाली, कविराज डाँगी र राजु डिसीले एक एक गोल गर्नुभएको हो । खेल अवधिभर वडा नम्बर ८ का खेलाडीले एक गोल पनि गर्न सकेनन् ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि विहान ७ बजे वडा नम्बर १९ र वडा नम्बर १० का खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । नगरका १९ वटै वडाबाट एक एक समूह बनाएर खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । असार ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद एक लाख, कप र प्रमाणपत्र र उपविजेतालाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक खोपीराम चौधरीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस