घोराही, २८ जेठ । घोराही उपमहानगरपालिका १७ कटहीका द्वन्द्वपीडितहरुले न्यायको नाममा रकमले मात्रै मनमा शान्ति नहुने बताएका छन् । पीडित परिवारका सदस्यहरुले सरकारले क्षतिपूर्तीको नाममा दश/दश लाख रुपैयाँ दिए पनि पीडकलाई कार्वाही नभएको प्रति दुःख व्यक्त गरेका छन् ।
विक्रम सम्बत २०५८ साल मंसिर १३ गते धान दाउने क्रममा नेपाली सेनाले ११ जना किसानको हत्या गरेको थियो । इन्टरनेशनल अलर्ट र एफडब्लुएलडीको आयोजनामा पीडितहरुसँग सोमबार भएको अन्तरक्रियामा उनीहरुले दोषीलाई कानुनी कार्वाही नहुँदासम्म मनमा शान्ति नहुने बताएका हुन् ।
संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि सामुदायिक सम्वाद मञ्चका संयोजक प्रकाश चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
द्वन्द्वपीडित छल्लु चौधरीले आर्थिक राहतले मात्रै न्याय नहुने भन्दै निर्दोष आफ्ना परिवारको हत्या गर्नेलाई कानुनी कार्वाही हुनुपर्ने माग गर्नुभयो । साथै उहाँले मृतक परिवारहरुको सम्झनामा स्मारक सहितको पार्क निर्माण, बालबच्चाको निःशुल्क पठनपाठनको व्यवस्था, उपचार, रोजगारको सुनिश्चितता गरिदिन स्थानीय सरकारसँग माग गर्नुभएको छ ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले पीडितहरुलाई न्याय दिन स्थानीय सरकारले मृतकहरुको सम्झनाका लागि स्मारक बनाउने, सीपमूलक तालिम र सहायताहरु प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पीडितहरुलाई निराश नबन्न आग्रह गर्दै उहाँले शोकलाई शक्तिमा बदल्न आग्रह समेत गर्नुभयो । हरप्लेसका संयोजक विनोद केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण इन्टरनेशन एलर्टका संयोजक गोमा महराले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस