घोराही, १ असार । लाइब्रेरी फाउण्डेसनका अध्यक्ष सोम सापकोटाले फाउण्डेसनले नेपालका पुस्तकालयहरुलाई डिजिटल प्रविधिमा लग्ने अभियान थालेको र यस क्रममा मुलुकभरीका ४० बढी पुस्तकालयलाई डिजिटल प्रविधिमा रुपान्तरण गरेको जनाउनुभएको छ । अध्यक्ष सापकोटाले दाङको सर्वोदय पुस्तकालयद्वारा घोराहीमा आज आयोजित स्वागत एवं छलफल कार्यक्रम उक्त कुरा बताउनुभएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएन) का सहकोषाध्यक्ष समेत रहनुभएका सापकोटाले जनस्तरबाट निर्मित मुलुकै पुराना पुस्तकालयमध्ये एक सर्वोदय पुस्तकालयलाई आफ्नो संस्थाको तर्फबाट आगामी एक वर्षभित्रै ई-लाइब्रेरी स्थापना गरिदिने प्रतिबद्धता जनाउँदै सिंगो मुलुककै धरोहरको रुपमा रहेको सर्वोदय पुस्तकालयको विकास गर्न सबै पक्षको सहयोग हपरिहार्य भएको बताउनुभयो ।
उहाँले विदेशमा बस्ने नेपाली व्यक्तिगत रुपमा सम्पन्न हुँदैमा केही नहुने भन्दै मातृभूमिको चौतर्फी समृद्धिमा गैरआवासीय नेपाली निरन्तर रुपमा लागिरहने बताउनुभयो । कार्यक्रममा बोल्दै सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमले आरोह र अवरोहका ६५ वर्ष बिताएको ऐतिहासिक धरोहर सर्वोदय पुस्तकालयलाई विकास गर्न सबै पक्ष उदार भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
छलफल कार्यक्रममा पुस्तकालयका सल्लाहकार नारायणप्रसाद शर्मा, पुरुषोत्तम खनाल, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघका सचिव भूपेन्द्र वली, पुस्तकालय व्यवस्थापन समितिका सदस्य एवं फ्रेन्डस् बाल क्लवका सदस्यलगायतको सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस