घोराही, ९ असार । दाङमा बालिका बलात्कारका घटनामा बृद्धि भएको छ । मानवअधिकारवादी संस्था इन्सेकले शनिवार घोराहीमा सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनले जिल्लामा बालिका बलात्कारको घटना ह्वात्तै बढेको उल्लेख छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तकका लागि दाङमा संकलन गरिएका घटनाको अर्धवार्षिक समीक्षामा प्रस्तुत गरिएको प्रतिवेदनमा अङ्ग्रेजी वर्ष जनवरी २०१८ देखि जुन २२ सम्मको ६ महिनाको अवधिमा २३ बालिका बलात्कार तथा बलात्कार प्रयासमा परेको उल्लेख छ । यो अवधिमा कुल २७ बलात्कारका घटनामा २३ वटा घटना बालिकामाथि भएको छ । जुन अघिल्लो वर्षको पहिलो ६ महिनामा बालिका बलात्कारका १० वटा घटना थिए । दोब्बर बढी बालिका बलात्कारका घटना भएको र त्यसमा ३ वर्षदेखि १७ वर्षसम्मका बालिका बलात्कारमा परेका छन् । जसमा सबैभन्दा धेरै ९ देखि १४ वर्ष उमेर समूहका बालिका बलात्कृत भएको इन्सेकले जनाएको छ ।
तथ्याङ्कलाई हेर्ने हो भने बुवा,दाजु, मामा, आफन्त, छरछिमेकबाट बालिका बलात्कृत भएको पाइएको छ । यस्तै इन्सेकले नाबालकबीचमै सामूहिक बलात्कारका घटना भएको जनाएको छ । तथ्याङ्कले बितेको ६ महिनामा ३ बृद्धा र १ किशोरी पनि बलात्कृत भएका छन् ।
इन्सेकका अनुसार दाङमा बितेको ६ महिनामा ८४ वटा मानवअधिकार उल्लङ्घन तथा हनन्‌का घटना भएका छन् । जसमा सबैभन्दा धेरै २७ वटा बलात्कार तथा बलात्कार प्रयास, २५ वटा धम्की/कुटपिट, हत्या/हत्या प्रयास ५, अपहेलना ४, बन्द/हडताल ७, कथित बोक्सी १, छुवाछुत १, दुर्व्यवहार ६, गैरकानुनी हिरासत/यातना ५, तोडफोड १ र अन्य २ गरी ८४ वटा घटना भएको इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले जानकारी दिनुभयो ।
मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सीता न्यौपानेको प्रमुख आतिथ्यतामा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नेपाल मानवअधिकार वर्ष पुस्तक समाजको अवस्था उजागर गर्ने दस्तावेजको काम गरेको बताएका थिए ।
उनीहरुले अपराध नियन्त्रणका लागि राज्यलाई सही नीति, कार्यक्रम र योजना बनाउन वर्ष पुस्तक उपयोगी हुने बताए । कार्यक्रमकी प्रमुख अतिथि न्यौपानेले समाजमा भएका विविध घटनालाई उजागर गरेर सरोकारवालाहरुलाई सचेत बनाउने काम वर्षपुस्तकले गरेको बताउनुभयो ।
यसैगरी वडा प्रहरी कार्यालयका प्रमुख रञ्जन अवाले अपराधविहीन समाजको कल्पना गर्न नसकिने भन्दै नागरिकलाई सचेत बनाउन वर्षपुस्तकले सहयोग पुर्‍याएको बताउनुभयो । दण्ड सजायले अपराध रोकिन नसकिने भन्दै यसलाई उजागर गरेर सचेतना फैल्याउने काम गरेकोमा इन्सेकलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा नेकपाका शरद अधिकारी, नेपाली काँग्रेसका शंकर डाँगी, राजमोका गणेश आचार्य, नेपाल पत्रकार महासंघ दाडका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, अधिकारकर्मीहरु लक्ष्मी आचार्य, हुमा डिसी, श्रीमन् न्यौपाने, पत्रकार सुदर्शन रिजाललगायतले वर्षपुस्तकमा सत्य तथ्य सूचनालाई मात्रै दस्तावेजीकरण गर्न सुझाव दिनुभएको थियो । सहभागीहरुले घटना संकलनको दायरा बढाएर सम्बन्धविच्छेद, आत्महत्यालगायतका विषयलाई पनि समेटन सुझाव दिएका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस