घोराही, १६ असार । शिक्षा, स्वास्थ्य र खाद्यअधिकार मात्र नभई निगरानीको दायरा बढाउन सरोकारवालाहरुले मानवअधिकार निगरानी समूहलाई आग्रह गरेका छन् । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित मानवअधिकार निगरानी समूहलाई नियमित विकासका गतिविधिमा पनि निगरानी बढाउन सम्वन्धित निकायहरुले आग्रह गरेका हुन् ।
शनिवार घोराहीमा आयोजित जिल्लास्तरीय सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठकमा बोल्दै उनीहरुले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारसँगै गाउँगाउँमा हुने विकासे कामलाई पनि निगरानीमा राख्नसके दिगो विकासमा टेवा पुग्ने बताएका थिए ।“शैक्षिक अधिकार, स्वास्थ्य र खाद्यअधिकारमा निगरानी समूहले नमूनायोग्य काम गरेको छ” घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले भन्नुभयो “निगरानी समूहले उल्लेखित विषयसँगै विकास निर्माणलगायत गाउँतहमा हुने विभिन्न गतिविधिको पनि निगरानी गर्नुपर्छ ।” उहाँले घोराही उपमहानगरपालिकाको वडा नं. ३, ४, ६ र ७ मा निगरानी समूह गठन हुनु सराहनीय काम भए पनि यसलाई विस्तार गरेर १९ वटै वडामा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका अध्यक्ष जीतेन्द्रमान नेपालीले गास, वास, कपास, शिक्षा, स्वास्थ्यलगायत नागरिक अधिकारका लागि सबै इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “आफ्नो मात्रै अधिकार खोज्ने प्रवृत्ति देखिएको छ” जिसस प्रमुख नेपालीले भन्नुभयो “अब अरुको अधिकारका लागि आफूले गर्ने कर्तव्यका बारे पनि सबै इमान्दार हुनुपर्छ, त्यसमा मानवअधिकार निगरानी समूहले भूमिका खेल्नुपर्छ ।”
राजनीतिक परिवर्तन आए पनि नागरिक अधिकार र कर्तव्यका विषयमा खासै परिवर्तन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । सो अवसरमा मानवअधिकार निगरानी समूह लक्ष्मीपुरकी अध्यक्ष खिमा अधिकारी, निगरानी समूह सौंडियारका उपाध्यक्ष लौटन चौधरी र इन्सेक जिल्ला सहजकर्ता शालिकराम मुसाफिरले एकवर्षमा भएका कार्यक्रम, त्यसका उपलव्धी, समस्या र आगामी दिनमा गर्ने कामका विषयमा जानकारी गराउनुभएको थियो ।
उठेका विषयमा जवाफ दिँदै घोराही उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी, घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख नारायण पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, कृषि शाखा प्रमुख भरतमणि पोख्रेललगायतले निगरानी समूहसँग सहकार्य गरेर नागरिकलाई दिने सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
जनप्रतिनिधि, विषयगत सरकारी निकायका प्रमुख, मानवअधिकार निगरानी समूहका पदाधिकारी, पत्रकार तथा अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस