घोराही, १८ आसर । घोराही उपमहानगरपालिका वडा नम्बर १३ देखि वडा नम्बर १९ जोड्ने सेवारखोलाको लापेमा झोलुंगे पुल निर्माण भएको छ । झण्डै २४ लाख रुपैयाँको लागतमा वडा नम्बर १३ लापेदेखि वडा नम्बर १९ साधन धोक्रे जोड्ने झोलुंगे पुलको निर्माण भएको हो ।
सेवा प्रतिष्ठान तुलसीपुरले जिम्मा लिएर सेवारखोलामा बनेको उक्त पुलको सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।जिल्ला समन्वय समिति जिल्ला प्राविधिक कार्यालयको २१ लाख २ हजार ९ सय ५४ रुपैयाँ, घोराही उपमहानगरपालिकाको १ लाख ३७ हजार १ सय ४८ रुपैयाँ र उपभोक्ताहरुको ४५ हजार ७ सय १६ रुपैयाँ गरी २२ लाख ८५ हजार ८ सय १० रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।
पुल निर्माण भए पछि वडा नम्बर १३ का खानीगाउँ, कोलबन, मलार गाउँका १ सय ५० बढी घरधुरीका १ हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिनुभयो ।पुल नहुँदा त्यस भेगमा नागरिकहरु सडकमा पुग्नका लागि धेरै हिँड्नुपर्ने र वर्षायाममा भेल आउँदा खोलापारी नै बास बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । नगर प्रमुख चौधरीले पुल निर्माणपछि अब नागरिकहरुलाई आवतजावतमा सहज हुने भन्दै संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
पुललाई सम्पत्तीका रुपमा संरक्षण गर्न आग्रह गर्दै उहाँले अब विकासलाई बस्तीसँग जोडेर अघि बढ्ने बाटोमा आफूहरु रहेको बताउनुभयो । वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीले पुल संरक्षणका लागि आवस्यक सहयोग गर्ने आश्वासन दिनुभयो । पुल बने पछि स्थानीय हर्षित भएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस