घोराही, १९ असार । घोराही लमही सडक खण्डको कटुवाखोलाबाट तीन दिनदेखि गाडीहरु आवतजावत गर्न सकिरहेका छैनन् । घोराहीदेखि बाहिरिने र लमहीदेखि भित्रिने सबै सवारीका साधनहरु नवलपुर, डबरी, चौघेरा हुँदै आवतजावत गरिरहेका छन् ।

कटुवाखोलाबाट पैदल यात्रु समेत वारपार गर्न सक्ने अवस्था छैन । पानी बगिरहेको छेउँमै पुल निर्माणको कार्य अन्तिम चरणमा छ । ह्युम पाइप हालेर आवतजावतका लागि डाइभर्सन बनाइएको थियो, त्यो पनि लगातारको वर्षाले सबै भताभुङ्ग बनाएको छ । खोला पार गर्नेहरुलाई सास्ती भएको छ तर अहिले जहाँबाट पानी बगेको छ त्यहाँ पुल नै छैन् । यसरी हेर्दा पुल निर्माण भए पनि सास्ती भने नहट्ने देखिएको छ । पुल बने पनि प्रयोगमा भने आउने छैन ।

शंकरमाली निर्माण सेवाले पुल निर्माणको जिम्मा २०७१ साल भदौ ११ गते लिएको हो । उक्त पुल २०७४ साल असोजमा बनिसक्नु पर्ने थियो । पुल निर्माणको काम थालनी भएदेखि अहिलेसम्म तीनपटक डिजाइन परिवर्तन भएको निर्माण सेवाका पदम शर्माको भनाइ छ । ४ करोड ३५ लाख रुपैयाँको लागतमा बन्ने पुल करिब अन्तिम चरणमा पुगेको छ ।‘मलाई जिम्मा दिए अनुसारको काम अबको दुई चारदिनमै सक्दैछु’ निर्माण व्यवसायी शर्माले भन्नुभयो ‘गएको मंसिरमै निर्माण भैसक्नुपर्ने काम हो तर सरकारले पैसा नदिँदा म अप्ठेरोमा परेँ । ४० मिटरको पुल निर्माणको जिम्मा लिएको हुँ, अबको ४ दिनमा ढलान गरेर मेरो काम पूरा गर्दैछु ।’ सरकारले पटक पटक डिजाइन परिवर्तन एवं रकम उपलब्ध नगराएका कारण ढिलासुस्ती भएको गुनासो गर्दै उहाँले भन्नुभयो ‘सरकारले पुलको डिजाइन परिवर्तन गर्दै जान्छ, समयमै पैसा दिँदैन तर दोष निर्माण व्यवसायीलाई आउँछ । मेरो केही गल्ती होला मान्छु तर राज्यकै निर्देशन र ढिलाइले मेरो बदनाम भयो ।’

डाइभर्सन बनाउने र यात्रालाई सहज बनाउने काम सडक विभागको भएको उहाँको भनाइ छ । यता घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सडक विभाग र निर्माण व्यवसायीलाई पटक पटक बलियो डाइभर्सन बनाउन निर्देशन दिँदै आउनुभएको छ । पानीको बहाब धेरै भएका कारण डाइभर्सन बनाउन नसकिएको सडक कार्यालयको भनाइ छ । यसैबीच पत्रे खोलामा पुल बनाउने जिम्मा पनि शंकरमालीले नै लिएको छ । त्यहाँको अवस्था पनि उस्तै छ । निर्माण व्यवसायी शर्माका अनुसार अहिलेसम्म उक्त पुल कस्तो बनाउने भन्ने नै डिजाइन आएको छैन ।

निर्माण ढिलाइ हुँदा ‘पासो’
दाङका पानी मुनीका सडकहरुमा पुल बन्ने योजनाहरु आउँदा दङाली निकै खुसी थिए तर ति खुसी अहिले निर्माणमा ढिलाई हुँदा पुल निर्माणस्थलका संरचनाहरु पासो बनेका छन् । सामान्य वर्षा भए पनि आउने भेलले यात्रालाई प्रभावित बनाएको छ ।

निर्माण हुन थालेका पुलहरुमा कामको थालनी भएको छ तर सडक भत्काएपछि वर्षायाममा ती स्थानहरु सास्ती केन्द्र भएको यात्रुहरु बताउँछन् । तुलसीपुर–घोराही–लमही सडक खण्डको बीचमा हाल ६ वटा पुल निर्माणाधिन छन् । पुल निर्माण थालेको ४ वर्ष बितेको भए पनि निर्माणको काम अधुरै रहेको छ । बबई खोलादेखि ग्वार खोलासम्म ६ वटा पुल निर्माणाधिन रहेको भए पनि ग्वारखोला बाहेकको सबै ५ वटा पुल निर्माण सुरु भएको ४ वर्ष बितिसकेको छ । झन्डै साढे ११ करोडको लागतमा निर्माणाधिन बबई खोला पुलको सम्झौता अनुरुप पुल निर्माणको जिम्मा पाएको अनक बज्रगुप जेभीले २०७५ साल ४ महिना १६ गतेसम्म निर्माण सम्पन्‍न गरिसक्नुपर्ने अवधि तोकेको छ ।

त्यस्तै गुज्रे खोला पुल निर्माणको काम २०७२ साल माघ १७ गतेदेखि निर्माण सुरु भएको हो । बज्रग्रुप कन्ष्ट्रक्सन प्रालिले ८ करोड ३५ लाखको लागतमा बनाउने जिम्मा लिएको छ । त्यस्तै शंकरमाली निर्माण सेवा कम्पनीले ४ करोड ३७ लागतमा २०७१ साल भदौ ११ गतेदेखि निर्माण सुरु गरेको पत्रेखोला पुल निर्माणको अवस्था झनै नाजुक छ । यो पुल निर्माणको काम झनै हालसम्म २० प्रतिशत पनि पूरा भएको छैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस