दाङ, १९ साउन । घोराहीका साइनबोर्ड लेख्ने व्यवसायीलाई भाषा शुद्धीकरण प्रशिक्षण दिइएको छ । सर्वोदय पुस्तकालय तथा वाचनालय र दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले यो अभियानलाई स्थानीय सरकारले चासोका साथ हेरेको जानकारी दिनुभयो । सबै क्षेत्रमा प्रयोग हुने भाषामा सुधार ल्याउनुपर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमबारे जानकारी दिंदै पुस्तकालयको भाषा शुद्धीकरण उपसमितिका संयोजक पद्यप्रसाद शर्माले नेपाली भाषामा लेख्ने र बोलिने भाषामा फरक आउन थालेकाले एकरुपता ल्याउन जागरणमूलक अभियान थालिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले पत्रकारिता क्षेत्रमा भाषा शुद्धीकरण आवश्यक रहेकाले यो अभियानमा सञ्चार क्षेत्रको सहयोग रहने बताउनुभयो ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सुदीप गौतमले गर्नुभएको थियो भने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले स्वागत गर्नुभएको थियो । नेपाली विषयका उपप्राध्यापकहरु टीकाराम उदासी, अम्बिकाप्रसाद डाँगी, चन्द्रबहादुर थापा र सुनिल पोख्रेलले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा घोराही क्षेत्रका १५ जना साइनबोर्ड लेख्ने व्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस