महेश बस्नेत
घोराही, २२ साउन । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका छात्रछात्राहरु साउने झरीमा आइतबार बेसाहीस्थित खेतमा पसे । बिद्यालय पोशाकमै रहेका बालबालिकाले किसानहरुसँगै रोपाई गरे र किसानका कुरा सुने ।

कक्षाकोठाभित्र बसेर निश्चित पाठ्यपुस्तकमा मात्रै गरिने अध्ययन अपर्याप्त हुने हुँदा व्यवहारिक शिक्षाका लागि विद्यार्थीलाई खेतमा लगेको विद्यालयका प्रधानाध्यापक केशवराज गिरीले बताए । कक्षा आठको पेशा, व्यवसाय तथा प्राविधिक शिक्षा विषयको प्रयोगात्मक सिकाई उपलब्धिका लागि विद्यार्थीहरु विषय शिक्षिका शारदा भण्डारीको साथमा खेतमा पुगेका थिए ।रोपाइका लागि तयार पारिएको खेतमा विद्यार्थीहरुले धानको बिऊ हातमा लिएर रोप्न थालेपछि कृषकहरु समेत हर्षित भए । बालबालिकालाई खेतीपाती सिकाउन पाउँदा कृषक जगबिर चौधरीले खुशी व्यक्त गरे । बालबालिका पनि किसान बन्न पाउँदा निकै हौशिए । “अहिलेसम्म धान रोपाइको अनुभव थिएन, आज किसान भएर खेतमै पुग्दा नौलो अनुभव गरियो,” छात्रा गृष्मा गिरीले भनिन्,“किसानका दुःख र संघर्ष सिक्ने अवसर प्राप्त भयो । समाजका दुःखसुख बुझियो ।”
यस्तै खेतीको अनुभवै नगरेका छात्र किसन खड्काले रोपाइँ गर्दा किसानहरुको श्रमबारे जानकारी पाएको बताए । किसान बुवा आमाहरुले सन्तानको शिक्षाका लागि बगाएको पसिना र श्रमको मूल्य बुझेको उनले बताए । रोपाइ रमाइलो लागेपछि अब धान काट्न पनि आउने अर्की छात्रा सपना सुनुवारले बताइन् ।

विद्यार्थीहरुसँगको छलफलबाटै पाठ्यक्रममा आधारित भएर प्रयोगात्मक विधिबाटै शिक्षण गर्दा प्रभावकारी भएको विषय शिक्षिका शारदा भण्डारीले बताइन् । विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षा प्रदान गर्न यो बिधि उपयोगी भएको उनले बताइन् । विद्यालयले यस वर्षदेखि क्रियाकलापमा आधारित जीवन उपयोगी शिक्षण विधि अवलम्वन गर्दै आएको उनले जानकारी दिइन् ।
फोटो क्याप्सन ः ज्ञानमाला एकेडेमीका बिद्यार्थीहरु खेतमा धान रोप्दै ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस