घोराही, ६ भदौ । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजनीतिक स्थायित्वबाटै समृद्धि ल्याउन सकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बुधवार मुख्यमन्त्री पोख्रेलले स्थायित्वविना समृद्धि सम्भव नहुने बताउनुभयो । तर देशलाई कतै न कतैबाट अस्थिरतातर्फ लैजाने प्रयास अहिले पनि भइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
जवरजस्त ‘करको कहर’ भन्ने हल्ला फैल्याएर देशमा अर्को अस्थिरता ल्याउने प्रयास भइरहेको र त्यस्तो काम हिजो संघीयता नचाहनेहरुबाट भइरहेको उहाँको भनाइ थियो । त्यही हल्लाले संघीयतामाथि नै प्रश्न उठाउने काम भइरहेको भन्दै उहाँले एकाध पालिकामा भएका करका समस्यालाई लिएर देशभरकै पालिकाहरुलाई बदनाम गर्ने र सिंगो संघीयतालाई असफल  बनाउनेतर्फ अहिले सुनियोजित रुपमै एउटा शक्ति लागेको दावी गर्नुभयो ।
हिजोका राज्य व्यवस्थाले देश बन्न नसकेपछि देश बनाउन नयाँ व्यवस्था ल्याइएको भन्दै मुख्यमन्त्री पोख्रेलले संघीयता हाम्रो लागि नयाँ प्रयोग भएको बताउनुभयो । “संघीयता नयाँ प्रयोग हो, काम गर्ने अठोट र संकल्प सवैमा हुने हो भने समृद्धि सम्भव छ तर अनावस्यक हल्लाले कसैलाई फाइदा हुँदैन । कर तिर्न सक्नेले तिर्नुपर्छ तर कर तिर्न नसक्नेहरुलाई बोझ हुनु हुँदैन” मुख्यमन्त्री पोख्रेलले भन्नुभयो “कतै दोहोरो कर लिएको पाइए त्यसलाई खारेज गर्न हामी लाग्नेछौं ।” करको विषयमा प्रदेशका विभिन्न ६ स्थानमा कार्यक्रम गर्न लागिएको जानकारी दिँदै उहाँले दोहोरो कर लिएको पाइएका तत्काल खारेज गरिने बताउनुभयो । प्रदेश सरकारले पटके सवारी करलगायतका कर खारेज गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।नेकपा नेतृत्वको सरकारले राम्रा काम गर्दा अहिले सरकारविरुद्ध मोर्चावन्दी सुरु भएको समेत मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । “सरकारले राम्रा काम गर्न खोज्दा प्रतिपक्षले मोर्चावन्दी र विरोधमा उत्रिएको छ” नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता पोख्रेलले भन्नुभयो “नेपालमा अस्थिरता चाहने प्रवृत्ति काँग्रेसलाई सरकारविरुद्ध प्रयोग गरेको छ यो राम्रो होइन ।” उहाँले आफूले ल्याएको बजेट कार्यान्वयन नहुँदै सरकारलाई पास फेल भनेर टिप्पणी गर्नुमा पनि सही नियत नभएको बताउनुभयो । उहाँले दाङ विकासको बाटोमा अघि बढिसकेको बताउनुभयो । कोइलावास नाका सूचारु, प्युठान दाङ मदन भण्डारी राजमार्ग निर्माण, वैकल्पिक विमानस्थल निर्माण, दाङ एकीकृत सिंचाई आयोजना, माडी र बबई डाइभर्सनलगायतका महत्वपूर्ण विकासे काम सुरु भइसकेको जानकारी दिनुभयो ।
उहाँले प्रदेशको राजधानी र नामाकरणका लागि समिति गठन भइसकेको र कहाँ भन्दा पनि कस्तो राजधानी बनाउने भन्नेतर्फ छलफल भइरहेको जानकारी दिनुभयो । नेकपाको जिल्ला नेतृत्व सिफारिसका विषयमा नेता पोख्रेलले विधि पद्धतिबाटै नेतृत्व सिफारिस गरिएको र सबैलाई पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । प्रेस चौतारी दाङका अध्यक्ष जे.एन.सागरको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष प्रकाश चौधरी र सञ्चालन सचिव पाण्डव शर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस