अमेलिया, ६ भदौ । ०७४ साउन २७ गते साँझ धवाडी र बाँदरखोलीको बाढी घरभित्रै पस्दा धौ-धौ बाँचेकी ३० वर्षीया पुनकला भुसाललाई दुई सन्तान र आफ्नो ज्यान बचाउन सकेकोमा जति हर्ष थियो त्यत्तिकै मुस्किलले बनेको घर बचाउन नसकेकोमा खुवै पीडा भयो । बाढीले घर र लत्ता कपडामात्रै होइन खाने अन्न पनि बगायो । गाई बाख्रा, कुखुरा सबै बग्दा सुकुम्वासी बनेकी भुसाल अहिले भने पक्की घरधनीको रुपमा पुनःस्थापित हुनुभएको छ ।लमही नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि मैनेकी पुनकलालगायत बाढीपीडित २२ घर परिवार पुनःस्थापित भएका छन् । “पोहर धौ-धौ बाँचेका थियौं, वर्षदिन लागे पनि यसपालीको वर्षामा ढुक्कसँग बस्न पाइएको छ” पुनकलाले भन्नुभयो “बास ठूलो कुरा रहेछ, ढिलै भए पनि पक्की घरको बास पाइएको छ ।” लमही नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माणका लागि दुई लाख दिएको थियो । दुई लाखमा केही रकम थपेर पुनकलाले घरमा भान्सा र चर्पी समेत निर्माण गर्नुभएको छ । पाँचदिन अघि घरसराइ गर्नुभएकी भुसालले भन्नुभयो “घर भए खाना, नाना जुटाउन केही गरौँला ।”
०७४ साउन २७ गतेको बाढीले लमही नगरपालिका–९ का  विभिन्न ६ स्थानका २३ घर बगाएको थियो । २३ मध्ये एक घरपरिवार बसाई सरी गएकाले बाँकी २२ घर परिवारलाई राष्ट्रिय वनको खाली जमिनमा पुनःस्थापित गरिएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार मैनेमा ४, तेल्लेमा ३, रिहारमा ६, हात्तीखाल, अमेलिया र वाङ्गेतालमा ९ वटा पक्की घर निर्माण गरिएको छ । “जग्गा खोजविनमा केही समय लाग्यो तर अधिकांशले आफ्नो पुरानो ठाउँ छोड्न मान्नु भएन” नगरप्रमुख केसीले भन्नुभयो “पीडितहरुकै मागअनुसार घर निर्माण गरिदिएका छौं ।” घर स्टिमेट, सिमेन्ट ढुवानी र आवस्यक निर्माणका सामग्री पनि सहुलियतमा उपलव्ध गराएको र थप ३५ आंशिक पीडितहरुलाई राहतका उपलव्ध गराइएको नगरपालिकाले जनाएको छ । “राहत पनि पाइयो, घर बनाउन दुई लाख पनि” मैनेका मोहन डाँगीले भन्नुभयो “चर्पी र झ्याल ढोकाका लागि काठ दिए आभारी हुने थियौं ।”
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस